महेश पाण्डे
चितवन । रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) को आयोजनामा सौराहा फुड फेष्टिवल आजबाट सुरु हुदैछ जुन फागुन ३ गते सम्म सञ्चालन हुनेछ । कोरोना भाइरसकका कारण सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान बनाउन र सौराहाको पर्यटन व्यवसायलाई गति दिन १५ औं संस्करणको सौराहा फुड फेष्टिवलको आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले यसपालीको सौराहा फुड फेष्टिवल हात्तीचोक देखि गैंडाचोक सम्मको ४०० मिटर भित्रको सडकमा गर्न लागिएको जानकारी दिए । आज (शनिवार) को उद्घाटन कार्यक्रम दिउसो ३ बजे रत्ननगर नगरपालिकाकी उप प्रमुख बिमला दुवाडीले गर्ने कार्यक्रम तय भएको खतिवडाले बताए । उनले फुड फेष्टिवलको आनन्द लिन बेलुका ४ बजेदेखि राति १० बजे सम्मको समय अझ बिशेष हुने जिकिर पनि गरे ।
खतिवडाले विशेष गरि प्रणय दिवसलाई लक्षित गरेर सौराहामा आन्तरिक पर्यटकलाई आकर्षण गर्न फुड फेष्टिवल आयोजना गरिएको जानकारी दिए । आफुहरुले घुमौं सौराहा अभियान गरिसकेको जानकारी दिदै खतिवडाले सौराहा कोरोनाबाट एकदम सुरक्षित छ भन्ने सन्देश दिन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउन फुड फेष्टिवल आयोजना गरिएको बताए । खतिवडाले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड अपनाएर र सुरक्षा सजगता अपनाएर कार्यक्रम गरिने बताए । यस अघिका फुड फेष्टिफल सिसुवारमा रहेको खालि मैदानमा हुने गरेकोमा अहिलेको फुड फेष्टिवल भने सौराहाको मुल सडकमानै गर्न लागिएको जानकारी दिए । सडकमै खाउ सडकमै रमाउ भन्ने भावसंगै फुड फेष्टिवल अगाडि बढ्ने बताउदै खतिवडाले कार्यक्रममा बिभिन्न जातजातीको झाँकीहरुको प्रस्तुतिका साथमा मिठामिठा परिकारको स्वाद लिन पाइने बताए । उनले यसपालीको सौराहा फुड फेष्टिवल सडकमानै भएपनि परिवारसंगै आएर रमाउन सबैलाई आग्रह पनि गरे ।
सौराहा भनेको नेपालको पर्यटकीय तेस्रो गन्तव्य हो र यसको विकास पनि यही ढंगबाट भइरहेको छ । यो नेपालको प्रदेश नं ३ को चितवन जिल्लामा अवस्थित ठाउँ हो । सौराहा नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि हो । चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने यो क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध मानिन्छ । सौराहा विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको छेउमा नै अवस्थित छ । सो निकुञ्ज ९३२ स्क्वायर किलोमिट क्षेत्रफलमा फैलिएको छ । जुन हात्ती, गैँडा, बाघ, मृग, जरायो, मयुर, चित्तल, बदेललगायतका वन्यजन्तुको साझा वासस्थान हो । यही भएको कारणले गर्दा पनि सबैखाले पर्यटकहरु देशविदेशबाट यहाँ आउने गर्दछन् । सौराहामा सामान्य गेष्ट हाउसदेखि ५ तारे स्तरका होटलहरु सञ्चालनमा रहेका छन् । जसको मूल्य प्रतिरात रु १ हजारदेखि १५ हजारसम्म रहेको छ भने यहाँ रु ३०० देखि १५०० सम्मको डिनर गर्न पाइन्छ ।

तपाईको प्रतिक्रिया