चितवन । पूर्वी चितवनका दुई स्थान रत्ननगर र कालिकामा क्रमशः वाटर किङडम र गुम्बा बन्ने भएको छ । जसको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चितवनका दुई नगरपालिकामा १२ करोड ३४ लाखका दुई योजना ल्याएको छ । आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यका साथ रत्ननगरमा वाटर किङडम र कालिकामा गुम्बाको अवधारणा ल्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
स्थानिय तहको पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गन भौतिक पुर्वाधार सहितको किङडम र गुम्बा माग अनुसार पर्यटन मन्त्रालयले माघ २९ गते दुई योजना अगाडि बढाउने निर्णय गरेको थियो ।

मन्त्रालयको सो निर्णयसंगै चितवनको रत्ननगरमा सात करोडको लगानीमा रत्ननगर वाटर किङ्डम र कालिका नगरपालिकाको ढोकुन थार्वालिङ गुम्बा क्षेत्र पूर्वाधार निर्माणको लागि पाँच करोड ३४ लाख रुपैयाँ लगानि गरि काम अब अगाडी बढ्ने छ ।
रत्ननगरकमा बन्ने वाटर किङडमको लागि लागत अनुमान सात करोड रुपैयाँ रहेको छ । जसमा मन्त्रालयको लागत चार करोड ५५ लाख र साझेदारी लागत दुई करोड ४५ लाख रहने छ । त्यसैगरी कालिका नगरपालिकाको ढोकुन थोर्वालिङ गुम्बा क्षेत्र पूर्वाधार निर्माणको लागत अनुमान पाँच करोड ३४ लाख रहेको छ । जसमा पर्यटन मन्त्रालयको लागत तीन करोड ४८ लाख रहेको छ भने साझेदारी लागत एक करोड ८६ लाख रहेको छ ।

यी दुई स्थानमा बन्ने पुर्वाधारमा स्थानिय तहले ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नु पर्ने छ । मन्त्रालयले स्थानीय तहको साझेदारीमा एक वर्षदेखि तीन वर्षसम्म पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास गर्ने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । यी आयोजना सञ्चालनका क्रममा सयौंले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने मन्त्रालयको अपेक्षा रहेको छ ।

रत्ननगर नगरपालिकाका इञ्जिनियर पंकज गिरीले वाटर किङडमको लागि रत्ननगर नगरपालिकाको वडा नम्बर ८ को सार्वजनिक जग्गामा पार्क बनाउने निश्चित भइसकेको जानकारी दिए । सो स्थानमा २३ कठ्ठा सार्वजनिक जग्गा रहेको उनका भनाई छ । गिरीले सो योजनाअनुसार त्यहाँ फन पार्कको शैलीमा पर्यटकहरुले आनन्द लिने गरी स्विमिङ पुलसहित खेलकुद र मनोरञ्जन पार्क निर्माण गरिने जानकारी दिए । उनले रत्ननगरमा बन्ने वाटर किङ्डम सार्वजनिक जग्गाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने गरी सो योजनाको डीपीआर तयार गरिएको बताए ।
त्यसै कालिका नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विनोद रेग्मीले ऐतिहासिक गुम्बा निर्माणको लागि जुटपानीको कमलचोकमा सो योजना निर्माण गरिने बताए । उनले ढोकुन थोर्वालिङ गुम्बा क्षेत्रमा गुम्बा र स्तुपाहरु निर्माण गरिने जानकारी दिए । उनले यसबाट आन्तरिक तथा बाह्य पर्यटकको बृद्धि हुने बिश्वास लिएको बताए ।

तपाईको प्रतिक्रिया