चितवन । पत्रकार र जनप्रतिनिधिले पनि पूर्वी चितवनमा रहेको रत्ननगर अस्पतालको खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाएका छन् । पूर्वी चितवनलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकार र जनप्रतिनिधिहरुले आइतबार कोरोनाविरुद्धको खोप लगाएका हुन् ।
नेपाल सरकारको कोरोना बिरुद्धको पहिलो चरणको दोश्रो खोप अभियान अन्र्तगत सो खोप लगाउन सुरु गरिएको त्ननगरका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले बताए । उनले रत्ननगर नगरपालिका, रत्ननगर अस्पताल र पूर्वी चितवनमा रहेर पत्रकारीता गरेका पत्रकार तथा जनप्रतिनिधिहरुले खोप लगाएका बताए ।

खोप अभियानको रत्ननगर नगरपालिकाकी निमित्त मेयर विमला दुवाडीले खोप लगाएर अभियानको आइतबार सुरुवात गरेकी थिइन । उनले यो खोप सुरक्षित छ भन्ने सन्देश दिन पनि आफुले खोप लगाएको बताइन । दुवाडीले खोप अभियान सुरु भइसकेको र अब बिस्तारै सबै जनमानसमा पनि खोप लाउने कामको सुरुवात हुने बताइन ।

सो खोप लगाउने अभियानमा पूर्वी चितवनका अग्रज पत्रकार तथा संघका संरक्षक केशव भट्टराई र केपीकिरण शर्मा तथा उपाध्यक्षहरु राजेन्द आचार्य, अनिता अर्याल र सचिव ध्रुवराज खनाललगायतका दुई दर्जन पत्रकारहरुले खोप लगाएको संघका अध्यक्ष होमनाथ सापकोटाले जानकारी दिए ।

निमित्त मेयर दुवाडीले खोप लगाएर खोप अभियानको सुरुवात गरेसंगै वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले पनि खोप लगाउन सुरु गरेका छन् । दोस्रो चरणको खोप अभियानअन्तर्गत पूर्वी चितवनका चार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, सिमानमा खटिने प्रहरी, न्याय र निजामती सेवामा खटिने कर्मचारी, प्राधिकारण तथा संस्थानमा काम गर्ने कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी तथा पत्रकारहरुलाई खोप लगाइने माधव पौडेलले बताए ।

पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीहरुलाई पनि दोस्रो चरणमा खोप लगाइने पौडेलको भनाई छ । पूर्वी चितवनमा दोस्रो चरणमा करिब तीन हजार जनालाई खोप लगाउने योजना रहेको पौडेलले बताए ।
रत्ननगर अस्पतालका मेसु डा. विश्वबन्धु बगालेले खोप लगाएपछि सामान्य ज्वरोबाहेक अन्य लक्षण नदेखिने बताए । ज्वरो आएमा दुई–तिन दिन सिटामोल खाएपछि ज्वरो निको हुने उनको भनाइ छ । डा. बगालेले खोप लगाएका सबैलाई ज्वरो नआउने बताए ।
उनले खोप लगाएकालाई सामान्य ज्वरो आउने, टाउको दुख्ने, ज्यान गल्ने लगाएतका समास्या देखिन सक्ने भएकाले नआतिन आग्रह पनि गरे । सो दोस्रो चरणको खोप अभियान भने फागुन ६ गतेसम्म चल्ने छ । आल नेपालमा बिभिन्न चरणमा गरि लगाइएको खोप भारत सरकारले नेपाल सरकारलाई अनुदानमा दिएको १० लाख कोभिसिल्ड नामक खोप रहेको छ ।












