बैतडी । भागरथी हत्या प्रकरणमा कक्षा ११ मा पढ्ने विद्यार्थी दिनेश भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (बुधवार) सार्वजनिक गर्ने भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको केहि दिन अघि बलात्कारपछि हत्या भएको थियो । विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २१ गते बुधबार भोलिपल्ट शव भेटिएको थियो । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल भागरथीको शव भेटिएको थियो ।

प्रहरीले उनको हत्यामा संलग्नको सुक्ष्म अध्ययन गरिरहेको थियो । सोही क्रममा भागरथी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका हुन् । प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता रहेको स्वीकार गरेकाले आज सार्वजनिक गर्ने तयारी गरेको छ । दिनेश भट्ट सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत रहेको प्रहरीले बताएको छ । भागरथी पनि सोेही विद्यालयको कक्षा १२ मा पढ्थिन । भट्टले घटनामा आफ्नो संलग्नता स्वीकार्दै बदला लिन यस्तो गरेँ भनेर प्रहरीमा साबिती बयान दिएको बैतडी प्रहरीले बताएको छ ।

त्यसो त प्रहरीले घटनामा संलग्न हुनसक्ने आशंकामा मंगलबार कञ्चनपुरबाट एक जना सरकारी कर्मचारीलाई पनि पक्राउ गरेको थियो । सो घटनामा उनी संलग्न भएको हुनसक्ने केहि आधारहरु देखिएको प्रहरीको जनाएको छ । तर पक्राउ परेका उनले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै डीएनए परीक्षण गर्न ठाडै चुनौति दिएका थिए । त्यही कारण थप प्रमाण खोज्न जुटेको प्रहरीले आज भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्ने भएको छ ।

केहिदिन अघि भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो तर अहिले उनि बिरुद्ध प्रमाण पनि जुटेको र उनले साबिती बयान पनि दिएकाले पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ । भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर देशैभरीबाट खबरदारी समेत भइरहेका छन् । भागरथी घटनाको अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाएको थियो । साथै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि सोही घटनाको अनुसन्धानका लागि खटिएका थिए । प्रहरीले आज दिउसो पत्रकार सम्मेलन गरि दिनेशलाई सार्वजनिक गर्ने कार्यक्रम रहेकोे छ ।

तपाईको प्रतिक्रिया