महेश पाण्डे
चितवन । केहि दिन अघि मात्रै चितवन आएका चितवनका प्रहरी प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले चितवन प्रहरीलाई प्रविधी मैत्री बनाइने बताएका छन् । बिहिवार जिल्ला प्रहरी कार्यालय चितवनमा आयोजित पत्रकारहरु बिच परिचयात्मक अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख (एसपी) अधिकारीले सो कुरा बताएका हुन् ।

अधिकारीले आफु कार्यालयमा आएको ५ दिन मात्र भएको जानकारी दिदै प्रविधिकोे प्रयोग स्वरुप सिसी क्यामेरा जडान र मर्मत कार्यलाई अगाडी बढाउने जानकारी दिए । उनले प्रहरीले प्रयोग गरिरहेको सिसी क्यामेराहरु केही बिग्रेको देखिएको बताउदै त्यसलाई मर्मत गरेर चलाइने र थप गर्नुपर्ने सिसी क्यामेराको लागि संघिय सरकार, प्रदेश सरकार र स्थानीय तहमा सहयोग मागेर भएपनि मुख्यमुख्य ठाउँमा राखिने जानकारी दिए ।

पत्रकार र प्रहरी भनेको एक अर्काको सुचनाको श्रोत भएको बताउदै अधिकारीले पत्रकार र प्रहरीले आफुसंग भएको सुचना एकले अर्कालाई दिन जरुरी रहेको बताए । उनले नेपाल सरकार र नेपालको कानुनले दिएको जिम्मेवारी आफ्नो बलबुताले भ्याए सम्म राम्रो गर्ने प्रयास गर्ने बताए । पत्रकारले जनतालाई सुसुचित बनाउन चाहीने जरुरी सुचना सम्प्रेषणको लागि तत्काल उपलब्ध गराउने भन्दै अधिकारीले म यसो गर्छु उसो गर्छु भनेर अहिलै भन्नू भन्दा, काम गर्दै जादा केही गरेर चितवनबाट जान सके राम्रो हुने कुरा आफुलाई लागेको बताए ।
अधिकारीले सञ्चारकर्मीसंग सहकार्य गर्नु पर्छ भन्ने सोच सबै प्रहरीमा रहनुपर्ने बताउदै अहिलेको समाज नकारात्मक सोचबाट गुज्रीरहेकाले समाजमा सकारात्मक सोचको आवश्यकता रहेको बताए । उनले यसअघि पत्रकारलाई जे जसरी सुचना प्रवाह हुने गरेको भएपनि त्यसलाई अझ प्रभावकारी बनाइने बताए । उनले पत्रकारलाई सुचना दिन न्यूनतम टाइम भन्दा नलिने बताउदै त्यस कुरामा आफु सधै तत्पर रहने बताए । चितवनमा अवैध क्रसर, खोला उत्खनन् र अवैध रुपमा होटल सञ्चालन गर्नेलाई के गर्नुहुन्छ भन्ने प्रश्नमा अधिकारीले त्यस बिषयमा अहिलेनै भन्नु हतार हुने भन्दै आफुले बुझेर कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताए । सो कार्यक्रममा चितवनका कार्यरत बिभिन्न मिडियाका पत्रकार तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।











