काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । सो बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिने निष्कर्ष निकालेको बताइएको छ । नेकपा ओली समुहको बुधबार बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफु राजीनामा दिन तयार भएको बताएको जनाइएको छ । तर प्रधानमन्त्री ओलीले अन्य दलहरुबीच छलफल गरेर राजीनामा दिने तयारी गरेकोे नेकपा ओली समुहका प्रवक्ता प्रदीप ज्ञवालीले ईंगित गरेका छन् । ज्ञवालीले अन्य दलहरुसँग हुने परामर्श र त्यसबाट आउने सुझावका आधारमा मात्र प्रधानमन्त्रीले राजिनामा दिने नदिने बिषयमा निर्णय गरिने बताए ।
उनले अदालतले गरेको फैसलाबमोजिम नै तोकिएको समयसीमाभित्रै संसद्को बैठक बोलाउने निर्णय पनि भएको बताए । ज्ञवालीले संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको जानकारी दिदै फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्ने बताए । तर त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि प्रधानमन्त्री ओलीले छलफल गर्ने उनले बताए । मंगलबार मात्रै सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

तपाईको प्रतिक्रिया