चितवन । एक करोड बढी राजश्व हिनामिना गरेर फरार रहेका जिल्ला मालपोत कार्यालयका चितवनका तत्कालीन अधिकृत रिठ्ठे दमाईलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार एक करोड १७ लाख बढी राजश्व हिनामिना गरेर फरार रहेका दमाईलाई काठमाडौंको कागेश्वरीबाट पक्राउ गरेको हो ।
चितवन भरतपुर घर भएका ५९ वर्षीय दमाईले मालपोत कार्यालयमा राजश्वबापत उठेको पैसा बैंकमा दाखिलनै नगरी नक्कली भौचर पेश गरी हिनामिना गरेको खुलेको थियो । दमाईलाई पक्राउ गरी अनुसन्धान थालिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिए ।
दमाईले आर्थिक वर्ष २०७४÷७५ मा मालपोत कार्यालयको बैंक खातामा राजश्व जम्मा गर्नु पर्नेमा उक्त राजश्व रकम दाखिलानै नगरि नक्कली भौचर पेश गरि हिनामिना गरेको अनुसन्धानबाट खुलेको अनुसन्धान ब्यूरो प्रमुख थापाले बताए । कार्यालयको आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु भेटिएपछि लेखा अधिकृत दमाई २०७५ मंसिर २५ गतेदेखि नै फरार भएका थिए । जग्गा रजिष्ट्रेशन बापत उठेको रकम दमाईले बैंकमा दाखिलानै नगरी आफैंले प्रयोग गरेका खुलेको थियो ।

तपाईको प्रतिक्रिया