काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पहिलो दिन नै अविश्वासको प्रस्ताव टेबल हुने सम्भावना देखिएको छ । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेकै दिन नेकपाका ९० सांसदले संसद सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तरपनि सो अविश्वासको प्रस्तावको वैधतामाथि प्रश्न उठेको छ भने सो प्रस्तावमा उल्लेखित प्रस्तावित प्रधानमन्त्रीको नाम पनि परिवर्तन हुन सक्ने अवस्था देखिएको थियो ।
संसद सचिवालयले भने प्रस्तावलाई वैधता दिने नदिने कुरा सभामुख अग्निप्रसाद सापकोटाको निर्णयमा भर पर्ने जनाएको छ । उता सभामुख सापकोटा भने सो विषयमा परामर्शकै क्रममा रहेको बुभिएको छ । सभामुख सापकोटालाई बिहीबार भेटेका नेकपा प्रचण्ड–माधव समूहका सांसद सुरेन्द्र पाण्डे अविश्वासको प्रस्ताव जुनबेला दर्ता भयो, त्यो बेलामा संसद विघटन भइसकेका कारण उक्त प्रस्ताव आफैँ एक्टिभ हुन्छ कि हुँदैन भन्ने बिषयमा बुझ्नुपर्ने बताए ।
नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले भने प्रधानमन्त्री बिरुद्ध अविस्वासको नयाँ प्रस्ताव दर्ता गर्नुपर्ने अवस्था आए पनि आफूहरु तयार रहेको बताएका छन् । कांग्रेस र जसपासँग हुने सत्ता समीकरणको सहमतिले पनि नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने हुनसक्ने उनीहरुका भनाई छ । नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले सो अविश्वासको प्रस्ताव अब बस्ने संसदको पहिलो बैठकमा नै टेबल गर्ने रणनीति रहेको बताएका छन् । यदि उक्त दिन अविश्वासको प्रस्ताव टेबल नभए सरकारले एकतर्फीरुपमा संसदको अधिवेशन अन्त्य गर्न सक्ने नेताहरुको आशंका रहेको छ । नेपालको संविधानको धारा १०० को उपधारा ४ अनुसार दर्ता हुने अविश्वासको प्रस्ताव यदि बहुमतले पास भए प्रधानमन्त्री केपी शर्मा ओली स्वतः पदमुक्त हुने देखिन्छ ।
उता नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई र बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग सत्ता समिकरणको बारेमा परामर्श गरेका छन् । नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपालले दुबै दललाई मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राखेका छन् । मिलेर अगाढि बढ्ने प्रस्ताव नयाँ सरकार गठनका सन्दर्भमा राखिएको बताउदै नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले आफुहरु, कांग्रेस र जसपा एक ठाउँमा उभिने सम्भावना रहेको बताएका छन् । उता कांग्रेस र जसपाले भने पार्टीमा छलफल गरेर मात्र के गर्ने भन्ने बिषयमा जवाफ दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया