चितवन । चितवनमा रहेका ३७ हजार बढी भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा दिने प्रक्रिया सुरु भएको छ । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका हुन् । ३७ हजारभन्दा बढीलाई लालपूर्जा दिने गरी काम अघि बढाइएको हो ।
चितवनका ७ वटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत सङ्कलन गर्ने काम शुरु गरेका छन् । यो पक्रिया वडा तहबाटै काम शुरु भएको बताइएको छ । भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपाकिलामा १५ हजार ७०० भूमिहीन तथा सुकुम्बासी छन् ।

आइतबार भएको कार्यक्रममा भरतपुर महानगर पालिकाकी नगर प्रमुख रेनु दाहालले भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया शुरु भइसकेको बताइन । उनले प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको बताइन । उनका अनुसार महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको छ ।
रत्ननगर नगरपालिकामा भूमिहीन तथा सुकुम्बासी लगत सङ्कलन समितिका संयोजक अर्जुन पङ्गेनी छ महिनाभित्रै भूमिहीनलाई पुर्जा दिने गरी काम शुरु भएको बताए । उनले वडावाट प्रमाणित गराएर नापनक्शा निकाल्ने काम गरिरहेको जानकारी दिए । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास परिवारको सङ्ख्या दुई हजार ४५० रहेको नगरपालिकाले जनाएको छ ।
चितवनको दक्षिणमा रहेको नगरपालिका माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडावडामा पुगेर लगत लिने काम भइरहेको बताए । उनले सुकुम्बासीको निवेदनका आधारमा फाराम भर्ने काम भइरहेको बताए । ढकालका अनुसार भूमिहीन सुकुम्बासीलाई ६ कठ्ठासम्म जग्गा निःशुल्क र अव्यवस्थित बसोवासीले निश्चित शुल्क तिरेर एक बिघा नौ कठ्ठासम्म जग्गा पाउने व्यवस्था नगरपालिकाले शुरु गरेको बताए । माडीको बाँदरझुलामा मात्रै झण्डै ७०० सुकुम्बासी रहेको जानकारी दिदै ढकालले तीस वर्षदेखि सुकुम्बासीका रूपमा बस्दै आएका सुकुम्बासीको समस्या समाधान सबैभन्दा जटिल रहेको बताए । उनले माडी नगरपालिकामा चार हजार सुकुम्बासी रहेको जानकारी दिए ।

चितवनको कालिका नगरपालिकामा चार हजार २३२ परिवार, राप्ती नगरपालिकामा ६ हजार परिवार र इच्छाकामना गाउँपालिकामा चार हजार ५०० भूमिहीन तथा सुकुम्बासी रहेका छन् । यस्तै खैरहानी नगरपालिकामा दुई हजार ५०० भूमिहीन तथा सकुम्बासी रहेका सम्बन्धित नगरपालिकाले जनाएको छ । सबै स्थानीय तहले पनि अहिले भूमिहीन समस्या समाधानमा प्रक्रिया शुरु गरिसकेको जनाएका छन् । इच्छाकामनाका अध्यक्ष गीता गुरुङले भूमिहीन तथा सुकुम्बासीको लगत लिई प्रमाणित गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको बताइन । रासस

तपाईको प्रतिक्रिया