काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । गत फागुन ४ गते बढेको पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी फेरि बढाएको हो । निगमले पेट्रोलियम पदार्थको गत मंगलबार मात्र मुल्यवृद्धि गरेकोमा दुई हप्तामानै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन सबैको मूल्य बढाएको हो ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २÷२ रुपैयाँ बढाएको बिज्ञप्तिनै निकालेर जनाएको छ । त्यस्तै आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ ।
मंगलबार देखि लागु भएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर कायम भएको निगमले जनाएको छ । उता ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।
निगमका अनुसार हाल वृद्धि गरिएको मूल्यमा बिक्री गर्दा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको जनाएको छ । मागको प्रक्षेपणका आधारमा यो मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्दा पनि निगमलाई १५ दिनमा १ अर्ब ३२ करोेड नोक्सान हुने देखिएको छ । उता नेपालमा मूल्य बढ्दा पनि सीमावर्ती भारतीय बजारमा भन्दा नेपालमा पेट्रोलको मूल्य ९५.९३ रुपैयाँ र डिजेलको मूल्य ४२.०७ रुपैयाँ सस्तो पर्न जाने निगमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया