बैतडी । बैतडीमा आफ्नै बुवाले तीन महिने छोराको हत्या गरेका छन् भने ४० वर्षीय भाई र ७० वर्षीय बृद्ध बुबालाई पनि आक्रमण गरि घाइते बनाएका छन् । मंगबार भएको उक्त घटनामा बुबाको कुटाइबाट तीन महिने छोराको ज्यान गएको हो । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका तीन महिनाका शिशु लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुरले हत्या गरेका हुन् ।
छोराको हत्या गरेका राजबहादुरले त्यस लगत्तै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका छन् । ३ महिने छोरा लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेको प्रहरीले जनाएको छ । राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सुतिरहेका छोराको टाउकोमा हानेपछि शिसुको मृत्यु भएको हो ।
उता ७० वर्षीय बुबाको टाउकामा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चोट लागेको छ । राजबहादुरले मारेका छोरा तीन छोरीपश्चात् जन्मेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बैतडी जनाएको छ । रासस

तपाईको प्रतिक्रिया