चितवन । चितवनमा उत्पादित तरकारीमा ९८ प्रतिशतसम्म विषादी फेला परेको छ । यहि मात्रामा बिषादी भएको तरकारी प्रयोग गरेमा छाला, आन्द्रा र रक्तक्यान्सरको जोखिम बढ्ने चिकित्सकको भनाई छ । हालका दिनमा चितवनमा उत्पादन भएका तरकारीमा अत्याधिक विषादी प्रयोग हुने गरेको पाइएको हो । कृषकले उत्पादन बढाउनको लागि सूचीकृत नभएका बिउ प्रयोग गरी उत्पादन लिन खोज्दा त्यसमा धेरै मात्रामा हानिकारक विषादीको प्रयोग हुने गरेको देखिएको हो ।
हालका दिनमा नेपाली भान्छामा प्रयोग हुने तरकारीमा बढी मात्रामा विषादी प्रयोग हुने र त्यसले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउने गरेको बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उप–निर्देशक डाक्टर कृष्णसागर पौडेलले बताए । पौडेलका अनुसार विषादी हालेको तरकारी सेवन गर्दा छाला, आन्द्रा र रक्त क्यान्सर हुने गर्दछ । उनले त्यस्ता बिरामी दिनप्रतिदिन बढ्दै गएको बताउदै अहिले तरकारी बढी उत्पादन हुने काभ्रे, धादिङ, चितवन लगायतका मान्छेमा छाला, आन्द्रा र रक्तक्यान्सरको समस्या बढी देखिएको जानकारी दिए । सुरक्षा सावधानी नअपनाई विषादी छर्दा छालाको क्यान्सर हुने र बढी विषादी प्रयोग गरेको तरकारी खादा आन्द्रा र रक्त क्यान्सर हुने पौडेलको भनाई छ ।
चितवनमा उत्पादन भएर जाने तरकारीमा बढी विषादी पाइएपछि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति काठमाण्डौँले केहिदिन अघि कृषि ज्ञान केन्द्र चितवनलाई पत्रसमेत लेखेको थियो । कालीमाटी मा रहेको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा भरतपुर महानगरपालिका–२४ ध्रुवनगरका कृषकले लगाएको फर्सीमा ९८ दशमलव ७७ प्रतिशत अर्गानो फस्फेट देखिएको थियो । यदि ४५ प्रतिशत भन्दा माथि अर्गानो फस्फेट देखिएमा सो वस्तु खान अयोग्य मानिन्छ ।
टमाटर, भेडेखुर्सानी, ब्रोकाउलीमा विषादीको प्रयोग अत्याधिक भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । कृषि ज्ञान केन्द्र चितवनकी बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीका अनुसार भरतपुरको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालामा गरिएको तरकारीको नमूना परीक्षणमा पूर्वि चितवनको टमाटर, पाख्रिबासको भेडेखुर्सीनीमा अर्गानो फस्फेट ४५ प्रतिशत भन्दा बढी र ब्रोकाउलीमा ४० प्रतिशत देखिएको बताइन् । उनले सो मात्रा खान अयोग्य विषादी भएको बताउदै चितवनको टमाटरमा पटक–पटक विषादीको प्रयोग बढी भएको बताइन ।
यस अघिपनि यहि मात्रामा बिषादी भेटिएपछि जिल्लामा ५ क्रेट टमाटर नष्ट गरिएको थियो । तरकारीमा अर्गानो फस्फेट ३५ प्रतिशत भन्दामाथि देखिएमा तरकारी प्रयोग गर्न नमिल्ने क्षत्रीको तर्क छ । तर, ३५ देखि ४५ प्रतिशतसम्म देखिएको तरकारीलाई केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम देखिएमा भने खान मिल्ने क्षत्री बताउछिन् हाल परीक्षणको क्रममा तरकारी र फलफूलमा बढी विषादी देखिने गरेको उनको भनाई छ । उनले विषादी न्यूनिकरणका लागि किसानहरु आफैँ जागरुक हुन आवश्यक रहेको बताइन ।

तपाईको प्रतिक्रिया