चितवन । संसद पुनर्स्थापनापछि कांग्रेस नेताको आ–आफ्नै कुरा सार्वजनिक ठाउँमा अभिब्यक्त हुन थालेका छन् । यसकै श्रृंखला हो चितवनमा बुधबार पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच देखिएको फरकफरक दृष्णिकोण र खोचपेच ।
केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि कांग्रेस सभापति देउवा मध्यावधि चुनावको पक्षमा उभिएका थिए भने कांग्रेसका वरिष्ठ नेता पौडेल संसद पुनर्स्थापनाका लागि आन्दोलन गर्नुपर्ने कुराको पक्षमा थिए । तर पछि सर्वोच्च अदालतको आदेशले संसद पुनर्स्थापना भएपछि हालका दिनमा देउवा र पौडेलबीच नयाँ सरकार गठनलाई लिएर पनि विवाद सुरु भइसकेको छ ।
यी दुइ नेतामा सम्बन्ध राम्रो छैन र मतभेद छ भन्ने संकेत पूर्वसांसद स्वर्गीय एकनाथ रानाभाटप्रति श्रद्धाञ्जली दिन आयोजित सभामा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको बायाँ रामचन्द्र पौडेल र दायाँ शेरबहादुर देउवा बस्नुले पनि पुष्टि गर्छ ।

सोहि कार्यक्रममा देउवाको छेउमा भने पार्टीका महामन्त्री शशांक कोइराला बसेका थिए । कोइरालाले भरतपुर विमानस्थलमा आएपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड–माधव समूहसँग मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका थिए तर उनले सो श्रद्धाञ्जली सभामा कुनै राजनीतिक टिप्पणी भने गरेनन् ।

तर धेरै पछि एउटै कार्यक्रममा देखिएका देउवा र पौडेलले हुन त राजनीतिक भाषण गर्ने कार्यक्रम होइन भन्दै जमेरै एक अर्काको आलोचना गरे । कांग्रेस सभापति देउवा भन्दा पहिला बोलेका वरिष्ठ नेता पौडेलले कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको र त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने धारणा ब्यक्त गरे । देउवाप्रति लक्षित गर्दै उनले आफ्नो औकात र हैसियतभन्दा बढी आकांक्षा राख्नु महत्वाकांक्षा र विकृति हो भन्दै हैसियतभन्दा बढी आकांक्षा नराख्न सुझाव पनि दिए ।

पौडेलले अहिले कांग्रेस प्रतिपक्षमा रहेको र संख्या पनि सानो भएको बताउदै जुन हैसियतमा संसदमा छ, सोही अनुसारको भूमिका खेल्नुपर्ने र विपक्षीको रुपमानै सही भूमिका निर्वाह गर्नुपर्ने धारणा ब्यक्त गरे । पौडेलले यसो भनिरहँदा सभापति देउवाले भने यताउता टाउको घुमाइरहेका थिए ।

त्यसपछि बोल्ने पालो आयो प्रमुख अतिथिका रुपमा रहेका देउवाको । उनले सुरुमै पौडेललाई जवाफ दिएर आफ्नो कुरा सुरु गरे । देउवाले हुन त यो राजनीतिक कुरा गर्ने ठाउँ होइन भन्दै रामचन्द्रजी बोलिहाल्नुभयो भन्दै पौडेललाई सानो चित्त भएको मान्छे भनेर घोचपेच सुरु गरे ।

देउवाले अगाडि थप्दै भने, ‘सानो चित्त नगर्नुस् रामचन्द्रजी । तपाईं विशाल हृदय राख्नुस् ।’ उनले पौडेलले प्रतिपक्षमै बस्नुपर्छ भन्ने आशय व्यक्त गरेको कुरालाई लक्षित गर्दै आफुलाई पदको लोभ नभएको तर जिम्मेवारी आए नभाग्ने पनि प्रष्ट पारे । उनले प्रधानमन्त्री पाऊँ भनेर आफु कतै नगएको बताउदै अफर आए नभाग्ने पनि बताए । सभापति देउवाले अवको प्रधानमन्त्री भनेको कांग्रेसबाट नै हुने हो भन्दै त्यसले पार्टीलाईनै फाइदा पुग्ने बताए । देउवाले एक एक गर्दै पौडेलको जवाफ दिइ रहदा वरिष्ठ नेता पौडेल भने देउवालाई हेर्दै मुसुमुसु मुस्कुराइ रहेका थिए ।

उता नेपाली कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठ भने पार्टी शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममा एकले अर्कोलाई गर्ने टिप्पणी र आरोपले पार्टीलाई फाइदा नपुग्ने बताए ।

उनले आन्तरिक वैठकमा छलफल, विवाद, मतमतान्तर, आरोप प्रत्यारोप भएपनि सार्वजनिक कार्यक्रममा भने नेताहरु मर्यादित र संयमित भएर प्रस्तुत हुदा राम्रो हुने बताए । प्रमुख नेताहरुबाटनै यदि त्यसो नभएमा आम कार्यकर्तामा निराशा छाउने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया