काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनसहित पेट्रोलियम पदार्थको मूल्य मंगलबारबाट बढाएसँगै वायुसेवा कम्पनीहरुले पनि हवाई भाडामा लाग्ने सरचार्ज समेत वृद्धि गरेका छन् । नेपाल सरकारले स्वचालित प्रणाली अनुसार इन्धनको मुल्यमा समायोजन गर्दै आएकोमा वायुसेवा सञ्चालक संघ नेपाल (आयोन) ले पनि स्वचालित प्रणाली अनुसार मूल्य बढाउने निर्णय भएको जनाएको छ । संघका प्रवक्ता योगराज कंडेलका अनुसार हवाई व्यवसायीको निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत स्वीकृति दिइसकेको र बढेको भाडा शुक्रबारबाट लागू हुने जनाएका छन् ।
नेपाल आयल निगमले प्रतिलिटर ५ रुपैयाँ आन्तरिक उडानको हवाई इन्धनमा बढाउने निर्णय गरेको थियो । अबको हवाइ उडानमा नयाँ सरचार्ज अनुसार माउण्टेन फ्लाइटतर्फ साविकभन्दा १७० रुपैयाँ बढी पर्ने भएको छ । त्यस्तै काठमाडौंबाट सबैभन्दा लामो दूरीको धनगढीका लागि सरचार्ज २२० रुपैयाँ, काठमाडौंबाट नजिकको गन्तब्य सिमराका लागि ४५ रुपैयाँ इन्धन मूल्य थप, विराटनगरबाट पोखरा उडानको भाडामा १६५ रुपैयाँ थप हुने भएको छ ।

तपाईको प्रतिक्रिया