काठमाडौं । निर्वाचन आयोगलाई प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गर्न भन्दै दोस्रो पत्र बुझाएको छ । नेकपाका प्रचण्ड–नेपाल समूहका राजेन्द्र पाण्डेसहितका नेताहरु अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर आयोग पुगेका थिए । पाण्डेका अनुसार तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेर लेखिएको निवेदन निर्वाचन आयोगलाई बुझाइएको हो ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि विभाजन भएको नेकपाको दुबै समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग धाइरहेका छन् । तर आयोगले भने गत माघ ११ गते नै दुबै पक्षको दाबी अस्वीकार गर्दै पहिला रहेको ४४१ सदस्यीय केन्द्रीय कमिटी नै कायमै रहेको बताएको छ । सोहि दिनको मितिलाई विवाद सुरु भएको मिति मानेर प्रचण्ड माधव समूहले माघ २० मा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता विवाद निरुपण गर्न भनेर पहिलो पटक निवेदन दिएको थियो । तर आयोगले सो निवेदन उपर निर्णय नदिएको भन्दै शुक्रबार पुनः आयोगमा आएर निवेदन दिएको पाण्डेको भनाई छ । आयोग पुगेको प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा पुनर्स्थापना भएको परिवर्तित परिस्थितिलाई समेत ध्यानमा राखी विवादको अविलम्ब निरुपण गर्नुपर्ने माग राखि आयोगको ध्यानाकर्षण गराउन खोजेको जनाएको छ ।
नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको बैठक बसेर ओलीलाई पार्टीको अध्यक्षको जिम्मेवारी र पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गरेको भएपनि ओलीले निरन्तर पार्टी विरोधी गतिविधि जारी राखेको आरोप लगाएको छ । प्रचण्ड–माधव समूहमा रहेका बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपिसमेत बुझाएको बताउदै सो समूहले १९ फागुनमा बसेको बैठकले सुवासचन्द्र नेम्वाङसहित ७ नेतालाई ६ महिनासम्म निलम्बन गर्ने निर्णय गरेको जानकारी पनि आयोगलाई गराएको छ । पाण्डेले आफुहरुले ल्याएको निवेदन दर्ता गरेपछि सोको जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यही दिनबाट प्रक्रिया सुरु गर्ने आश्वासन दिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया