खैरहनी । पूर्वी चितवनको खैरहनीमा रहेको पर्सा साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ कार्यसमिति चयन दलिय सहमतिका आधारमा गरिएको छ । शनिवार सम्पन्न १७ औं साधारण सभा तथा ५ औं अधिवेशनमा अध्यक्षमा काँग्रेस निकटका गणेश बर्तौला सर्वसम्मतरुपमा चयन भएका छन् । नेकपाभित्रको ओली समूह, प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसबीच भागबण्डा गरेर दलिय सहमति बनाई सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
दलिय भागबण्डा अनुसार नेकपाले दुई पदाधिकारी र तीन जना सदस्य पाएको छ भने नेपाली कांग्रेसले अध्यक्ष र अर्को एक पदाधिकारी तथा दुई सदस्य पाएको छ । नेपाली कांग्रेस निकट उपभोक्ता गणेश बर्तौला अध्यक्षमा र श्याम पाठक कोषाध्यक्षमा चयन भएका छन् । नेकपा प्रचण्ड–माधव समूहको तर्फबाट उपाध्यक्षमा प्रकाश रुपाखेती र नेकपा ओली पक्षबाट सचिवमा अशोक रैला सर्वसम्मत चुनिएका हुन् । नौ सदस्यीय कार्यसमितिमा पाँच जना सदस्य रहेका छन् । जसमा कांग्रेस निकटका दुई जना र नेकपा निकटका तीन जना रहेका छन् । सदस्यहरुमा कांग्रेस निकटका महेन्द्र थापा र सुनिता चौधरी हुन् भने नेकपा प्रचण्ड–माधव समूह निकटबाट केशव भट्टराई र नेकपा ओली समूहबाट कमला गजुरेल र भवानी खतिवडा चयन भएका छन् ।
दुई पार्टीबीच भएको सहमती अनुसार लेखा समिति संयोजक नेकपालाई दिने र दुई सदस्य कांग्रेसले लिनेछन् । संयोजकमा प्रचण्ड माधव समूहबाट चयन गर्ने सहमति भएको बुझिएको छ । नवनिर्वाचित कार्यसमितिको समयावधि चार वर्षको हुनेछ । सो समितिका पदाधिकारी तथा सदस्यहरुले शनिबारनै सपथग्रहण गरेर पदभार समेत ग्रहण गरेका छन् ।

गतवर्ष पर्सा साना खानेपानी जिल्लामै शुद्धपानीको गुणस्तरमा पहिलो नम्बरमा रहेको थियो । पदभार ग्रहणपछि संक्षिप्त प्रक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष गणेश बर्तौलाले पानीको गुणस्तरलाई कायम राख्दै सहज र सरल रुपमा नगरवासीलाई शुद्धपानीको पहुँचमा पु¥याउने बताए । पर्सा खानेपानीले अहिले खैरहनी नगरपालिकाको वडा नम्बर ५, ६, ७, ८, ९, १२ र १३ को सबै क्षेत्र र वडा नम्बर २ को केही क्षेत्रमा खानेपानीको सुविधा उपलब्ध गराउँदै आएको छ । सो संस्थाले झण्डै चार हजार ४०० ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया