महेश पाण्डे
चितवन । नेपाल सरकारले आज (आइतबार) बाट दोस्रो अभियानको पहिलो चरण अन्र्तगत देशैभर रहेका ६५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको कोभिसिल्ड नामक खोप लगाउने अभियान सुरु गरेको छ । नेपाल सरकारले केहि दिन अघि सम्म पनि ५५ वर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने सोच अनुसार प्रचार प्रसार गरेपनि भारतबाट आउने कोभिसिल्ड नामक खोप भनेजति नआएपछि ६५ वर्ष माथिकालाई दोस्रो अभियानमा जोड्ने भनेर उमेरको हदबन्दि बढाएको थियो ।

नेपाल सरकारको सो अभियानसंगै रत्ननगरमा पनि जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ । रत्तनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलका अनुसार हाल रत्ननगरमा करिब ११ हजार ५५ वर्षका जेष्ठ नागरिक रहेकोमा अब ६५ वर्ष उमेरका करिब ७ हजारलाई यो अभियानमा खोप लगाइने बताए ।

उनले खोपको उपलब्धतासंगै बिस्तारै सबै उमेर समुहकालाई नेपाल सरकारले खोप उपलब्ध गराउदै लैजाने योजना बनाएको बताए । पौडेलले रत्ननगरका १६ वटै वडामा रहेका स्वास्थ्य केन्द्रमा खोपको ब्यवस्था मिलाइएको बताउदै जेष्ठ नागरिकलाई खोप लगाउन लैजादा परिचय खुल्ने पत्र वा वडाको सिफारिस अनिवार्य लैजान आग्रह पनि गरे । उनले आज देखि सुरु भएको खोप अभियान रत्नतगरमा खोप लगाउन चाहाने जेष्ठ नागरिकको अवस्था अनुसार ३ देखि ५ दिन सम्म चल्ने बताए ।

रत्ननगर नगरपालिकाको वडा नं. १, २, ३, ४ का जेष्ठ नागरिकको खोप लगाउने ठाउँ बकुलहर रत्ननगर अस्पताल तोकिएको छ । सो अस्पतालमा खोप लगाउने कार्यक्रमको सुभारम्भ गर्दै रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सबै नागरिकलाई खोप लगाउने कार्य बिस्तारै हुने बताए ।

उनले नेपाल सरकारले उमेर समुह र प्राथमिकताका आधारमा कोरोना खोप लगाउने समुहको बर्गिकरण गरेको बताउदै सो अभियान सकिए लगत्तै सबैमा खोप अभियान चल्ने बताए । उनले हाल १५ सैयामा सञ्चालनमा रहेको बकुलहर रत्ननगर अस्पताल ५० सैयाको लागि स्विकृत भएको जानकारी दिए । मेयर वनले हाल सो अस्पतालमा मानसिक रोग बाहेक सबै रोगको उपचारको सुविधा रहेको बताए

बकुलहर रत्ननगर अस्पतालका प्रमुख बिश्व बन्धु बगालेले हाल दिइने खोप लगाएका ब्यक्तिहरुमा हाल सम्म कुनै समस्या नदेखिएकाले ढुक्क भएर खोप लगाउन अनुरोध गरे । तरपनि रगत पातलो बनाउने औषधी खाने ब्यक्ति , सिरियस बिरामी, गर्भवति महिला र १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन भने नहुने बगालेको भनाई छ । बगालेले त्यस बाहेक सुगर, प्रेसर, क्यान्सरका बिरामी तथा इमुनो कम भएका मानिसहरुले भने सो खोप लगाउन मिल्ने बताए ।

सो खोप केन्द्रमा पहिलो खोप रत्ननगर–१, बकुलहर निवासी ७७ वर्षिय हरि प्रसाद पुडासैनीले लगाए । उनलाई सो खोप लगाउन ल्याएका उनका छोरा राज पुडासैनिले आफ्नो बुवालाई कोरोना बिरुद्धको खोप लगाउन पाउदा खुसी लागेको बताए ।

पुडासैनीले बुवासंगै असक्त आमा पुर्णमाया पुडासैनिलाई पनि कोरोना बिरुद्धको खोप लगाउन ल्याएको बताए । आफुलाई भन्दा बृद्ध वुवाआमामा कोरोना रोग लाग्ने सम्भावना बढि हुने बताउदै पुडासैनिले दोस्रो अभियानमा भएपनि पहिलो प्राथमिकतामा जेष्ठ नागरिक परेकोमा नेपाल सरकारलाई धन्यवाद पनि दिए । उनले अझै पनि बिभिन्न देशमा कोरोना खोप लगाउने कार्यहुन नसके पनि नेपालमा भने उमेर समुह अनुसारनै भएपनि खोप अभियान सुरु भएकोमा खुसी ब्यक्त गरे । उनले बुवा आमाहरुको पालो पहिला आएकोमा हर्षित हुदै अब आफ्नो पालो कहिले आउला भन्ने सोच भने मनमा रहिरहेको सुनाए । साे कार्यक्रममा ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर राना, रत्ननगर नगरपालिका वडा नं. १, २, ३ र ४ का वडा अध्यक्षहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया