काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएपछि अब प्रधानमन्त्री केपी शर्मा ओलीले साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा बोल्दै ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बस्ने बताएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले अदालतले ऋषि कट्टेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दिए पनि राजनैतिक रुपमा यसले मुलुकलाई सही कोर्समै लैजाने र अब नेकपा एमालेको बैठक बस्ने कुरा बताएका छन् । केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीको भनाई छ । प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय लिइने बताएका छन् । तर उनले यो विशेष निर्णय भनेको राष्ट्रियसभाका सांसदहरु, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा उपनिर्वाचनबाट जितेका प्रतिनिधिहरुलाई जोगाउनेबारे नयाँ विधेयक ल्याउनुपर्ने हुनसक्ने ओलीको संकेत थियो । सर्वोच्चले नेकपाको एकतालाई मान्यता नदिएकाले अब आफ्नो सरकार संयुक्त बनेको प्रधानमन्त्रीको दावी छ ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने हुन्छ । उनले विश्वासको मत एक महिनाभित्र लिने बताएका छन् । तर उनको नेतृत्वमा आइतबार बसेको बैठकलाई भने एमाले दलको बैठक भने भनिएको थिएन । पार्टी प्रक्रियाकै क्रममा अदालतको फैसला आएकाले सबै सांसदहरुलाई बोलाइएको थियो । ओलीले अब भने माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै बैठक बस्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया