महेश पाण्डे
चितवन । बनेको लामो समय केहि गर्न नसकेकोे भनेर आलोचित भएको बकुलहर रत्ननगर अस्पतालले पछिल्लो समय भने नसोचेको प्रगति गरेको छ । त्यहि प्रगतिका कारण भरतपुरमा रहेका ठुला अस्पतालमा भन्दा बिरामीको भिड हालका दिनमा सो अस्पतालमा लाग्ने गरेको छ । बिरामीको समस्या समाधान नहुने भएको भए पक्कै पनि सो अस्पतालमा बिरामी फर्केर जाने थिएनन होला । तर भनेजस्तै र सोचे जस्तै उपचार पाएपछि पूर्वी चितवनमा सो अस्पताल हालका दिनमा सबैको आकर्षणको केन्द्रबिन्दु बनेको छ ।
बिरामीको भिडभाड बढेसँगै सो अस्पलामा घण्टौ लाइनमा बस्नुपर्ने बाध्यता पनि बढेको छ । टिकट काउण्टर, फार्मेर्सी, ल्याब तथा बिशेषज्ञ लाई देखाउने ठाउँ सबै तिर घण्टौ लाइन बस्नु पर्दा बिरामीलाई निकै समस्या परेको देखिन्छ । यस बिषयमा नेपालीको आवाज डटकमले अस्पतालका मेसु डा. बिश्व बन्धु बगालेलाई सोध्दा उनि भन्छन् “अरु ठाउँमा १५ वेडको अस्पतालमा हेल्थ पोष्ट चलेको छ, जहाँ दिनको ५०–६० जना बिरामी आउछन । तर हामीकहाँ दिनको ५०० देखि ६०० जना बिरामी आउछन्, जसले गर्दा घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता भएको हो ।”

बगालेले आफु आएको डेढ बर्षमानै दैनिक फाट्ट फुट्ट बिरामी आउने अवस्थामा रहेको अस्पतालमा हालका दिनमा दैनिक ६०० जना सम्म बिरामी आउन थालेको बताउदै यसको मुख्य कारण अस्पतालले दिएको सुविधा सहितको सेवा भएको बताए । उनले अस्पतालसँग सिमित जग्गा र ठाँउ भएकाले एकै पटक बिरामी धेरै आउदा भिडभाड बढेपछि घण्टौ लाइनमा बस्नु पर्ने बाध्यता रहेको बताए । तरपनि उनले अहिले अस्पतालको नया भवन निर्माण र तला थप्ने काम गरिरहेकाले चाडैनै सो समस्या को पनि हल हुने बताए ।

नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमको सेवा लिने बढेकाले अस्पतालमा भिड बढेको हो कि भन्ने प्रश्नमा बगाले भन्छन् “सो कारणले मात्रै पनि भिड बढेको मलाई लाग्दैन, तपाई आफै हेर्नुस हामीसंग आफ्नै सुविधा सम्पन्न ल्याव छ, मेजर अप्रेसन हामी यहि गर्छौ, भरतपुरमा पाइने सेवा र वरिष्ठ बिशेषज्ञको सेवा यहि पाइने ब्यवस्था छ, सबै कुरा नजिकै पाइने भएपछि बिरामीको अन्त किन जाने ? त्यसैले नै बिरामीको संख्या बढेको हो ।”
उनले हालका दिनमा अस्पतालमा दैनिक २ देखि ३ जना सम्मको मेजर अपरेसन हुने गरेको बताए । आइसियु, सिसियु, अपरेशन कक्ष, पोष्ट अपरेटिङ वार्ड लगाएतको सेवा अवको छ महिना भित्रमा थप्ने लक्ष्य लिएको बताउदै बगालेले त्यस पछि भने भरतपुरबाट पनि बिरामी रिफर भएर सो अस्पतालमा आउने बताए ।

रत्ननगर अस्पतालमा अघिल्लो आर्थीक वर्ष २०७६÷७७ मा मात्रै १ लाख ४८ हजार बिरामी आएको तथ्याङ्क रहेको बताउदै बगालेले त्यसको आधा बिरामी रिफर भएर भरतपुर जाने गरेको भएपनि हालका दिनमा भने सबै बिरामीको यहिनै उपचार हुने गरेको बताए । यो वर्षमा २ लाख बिरामीलाई सेवा दिने लक्ष्य रहेको बगालेको भनाई छ । उनका अनुसार अस्पतालमा हाल १२० जना कर्मचारी कार्यरत रहेका छन् । जसमा २५ जना जतिको मात्रै दरवन्दी रहेको भएपनि अरु बाँकी केहिलाई रत्ननगर नगरपालिकाले र केहिलाई अस्पताल आफैले सेवा सुविधा उपलब्ध गराउने गरेको बताए ।
अस्पाल ब्यवस्थापन समितिका अध्यक्ष तथा रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले १५ शैयाको स्विकृत रहेको रत्ननगर अस्पतालले प्रदेशबाट केहि दिन अघि मात्रै ५० सैयाको स्विकृत पाएको बताए ।

आफु केहि दिन अघिमात्रै अमेरिकाबाट आएको बताउदै मेयर वनले अब चाँडैनै मन्त्रालयमा गएर सबै प्रक्रिया पुरा गरि निर्माण कार्यलाई चुस्त दुरुस्त अगाडी बढाउने प्रतिवद्धता जाहेर गरे । भिडभाड र जेष्ठ नागरिकको सवालमा केहि असुविधा भएको आफुले पनि देखेको बताउदै मेयर वनले जेष्ठ नागरिकलाई लाइन बस्न नपर्ने र केहि दिन भित्रै माथिल्लो तल्ला र मुख्य गेट नजिकको भवन सम्पन्न भएपछि फार्मेसी, ल्याव लगाएतमा लाइनमा बस्नुपर्ने झन्झटबाट भने मुक्त भइने धारणा ब्यक्त गरे । मेयर वनले २०५४ सालमा आफ्नै पालमा सुरु भएको सो अस्पतालको शान्ति सुरक्षा र व्यवस्थापनलाई सहज बनाउन ईलाका प्रहरी कार्यालय रत्ननगरसंग पनि कुरा भएको बताउदै अब चाँडैनै अस्पतालको सुरक्षाको सवालमा ईलाका प्रहरी र नगर प्रहरीको पनि ब्यवस्था गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया