चितवन । तनहूँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान्लाई बोकेर दौीडने प्रतियोगिता सम्पन्न गरेको छ जसमा विष्णु र पदमको जोडी प्रथम भएको छ । सोमबार १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सो गाउँपालिकाले फरक खालको कार्यक्रम अर्थात श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा सहभागी हुनेले श्रीमान्लाइ बोकेर एक सय मिटर दौडिनु पर्ने नियम बनाइएको थियो ।
देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापा मगरले महिलाहरु पनि पुरुषहरु सरह सक्षम छन् भन्ने शन्देस दिन नारी दिवसको अवसर पारेर श्रीमतीले श्रीमान्लाई बोकेर दौडिने प्रतियोगिताको आयोजना गरिएको बताइन् । देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको सो प्रतियोगितामा १४ वटा जोडी सहभागी भएका थिए । सो प्रतियोगितामा स्थानीय विष्णु र पदम अधिकारीको जोडी भने पहिलो भएको छ । त्यस्तै गंगा र नविन गुरुङको जोडी दोस्रो, सीता लामिछाने थापा क्षेत्री र बमहादुर थापाको जोडी तेस्रो भएका छन् भने उजेली पन्त पोखरेल र भरत पोखरेलको जोडीले सान्त्वता स्थान हासिल गरेको आयोजकले जनाएको छ । बिजयी उनीहरुलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
देवघाट गाउँपालिकाका प्रेस संयोजक आशिक रानामगरका अनुसार गाउँपालिकाकै आयोजनामा कुर्सी घुमाइ प्रतियोगिता समेत गरिएको थियो । जसमा ३० जना सहभागी रहेको रानामगरले बताए । उनका अनुसार मित्र आले प्रथम, उमा ढकाल दोस्रो तथा गीता गुरुङ तेस्रो भएका थिए । उनिहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको रानामगरले जानकारी दिए ।
देवघाट गाउँपालिकाकी उपाध्यक्ष विमला थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य भगवती न्यौपाने प्रमुख अतिथि रहेकी थिइन । सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापामगर, देवघाट–५ का वडाअध्यक्ष एलबहादुर गुरुङ, देवघाट–४ का वडाअध्यक्ष पदमबहादुर गुरुङ, देवघाट–१ का वडाअध्यक्ष भीमबहादुर गुरुङलगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया