काठमाडौँ । नेपालबाट भारतमा महिलालाई लैजाने र वेश्यावृत्ति गर्न बाध्य पार्ने चमेली नाम गरेकी नेपाली महिला पक्राउ परेकी छिन् । उनले नेपालबाट भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ ।
नेपाल प्रहरीले भारतमा कोठी सञ्चालन गर्ने मानव बेचबिखन अपराधमा संलग्न रही फरार रहेकी नुवाकोटको साविक गाउँखर्क गाविस–९ की ६२ वर्षीया रुकमाया तामाङ (चमेली) लाई पक्राउ गरेसंगै सबै तथ्य खुलेको जनाएको छ । प्रहरीका अनुसार उनले सीता तामाङको नामबाट चेलीबेटी बेचबिखन गर्ने गरेको खुल्न आएको छ । तामाङले भारतको नयाँ दिल्लीस्थित जिबी रोडको ५६ नम्बर गल्लीमा कोठी सञ्चालन गरेर बस्ने गरेको पत्ता लागेको प्रहरीले जनाएको छ ।
तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नुवाकोट प्रहरीको सहयोगमा विदुर नगरपालिकाबाट पक्राउ गरी अनुसन्धान थालिएको ब्युरोका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए । पक्राउ परेकी तामाङलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्यादसमेत थप गरी अनुसन्धान जारी राखीएको न्यौपानेको भनाई छ ।
प्रहरीका अनुसरा पीडित महिलालाई उनका सहयोगीले चितवनमा आफन्तको घरमा काम लगाइदिन्छु भन्ने बहानामा काठमाडौँबाट लगेको अनुसन्धानबाट देखिएको छ । त्यसपछि सो गिरोहले बीच बाटोमा पानीमा बेहोस हुने औषधि खुवाएर भारतको नयाँ दिल्लीस्थित तामाङको कोठीमा पु¥याएर बिक्री गरेको खुलेको न्यौपानेको भनाई छ ।
भारतको कोठीमा लगेपछि तामाङले पीडितलाई बन्धक बनाई जबर्जस्ती यौन पेशामा लगाएकी थिइन् । मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तामाङ पक्राउ परे लगत्तै उनका सहयोगीहरुको पनि खोजी जारी रहेको ब्युरोले जनाएको छ । (रासस)












