काठमाडौं । राम बहादुर बादलसहितका मन्त्रीहरुलाई माओवादी केन्द्रले फिर्ता बोलाएको छ भने उनिहरुसँग २४ घण्टे स्पष्टीकरणको माग पनि गरेको छ । नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रामबहादुर थापा बादलसहित सबै मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन पनि दिएको छ । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको भोलिपल्ट शनिबार माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
शनिवारको माओवादी केन्द्रको बैठकले पार्टी परित्याग नगरी एमाले अध्यक्ष ओलीले दिएको जिम्मेवारी स्वीकार गरेका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बादल सहितका नेताहरुले दल त्याग गरेको हो वा के हो स्पष्ट पार्न भनिएको बताएका छन् । उनले उनिहरु माओवादी केन्द्रमा नफर्किए कारबाही गर्ने बताए । यदि त्यसो भएमा उनीहरुको संसद पद पनि गुम्नेछ । उता ओलीतिर लागेका उर्जामन्त्री रायमाझीले भने अब सांसद र मन्त्री पद गएपनि ओलीको साथ भने नछोड्ने बताइसकेका छन् ।

हाल एमालेमा गएका माओवादी केन्द्रका नेताहरु सरकारमा बिभिन्न मन्त्रीको पदमा रहेका छन् । जसमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, प्रभु साह सिँचाईमन्त्री, दावा लामा खेलकुदमन्त्री र गौरीशंकर चौधरी श्रममन्त्री रहेका छन् ।
नेकपा एकता अघि तत्कालिन अवस्थामा बादल माओवादी केन्द्रको नेतृत्व गर्दै ओली सरकारमा गएका हुन् भने भट्ट माओवादीकै कोटामा मन्त्री बनेका थिए । सरकारका हालका पाँचमन्त्री भने साबिकको नेकपा ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएपछि बनेका हुन् । नेकपा विभाजनमा प्रचण्ड–माधव समूह छाडेर आफूतिर आएका उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका हुन् ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यँुताइ दिएपछि माधवकुमार नेपाल समूह एमालेमै सक्रिय भएका छन्, तर बादलसहितको समूह भने माओवादी केन्द्रमा फर्किएका छैनन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूहको बैठक राखेर बादलसहितका २३ जना माओवादी केन्द्रका नेताहरुलाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । एमाले ओली समूहको बैठकले बादललाई बागमती प्रदेशको इन्चार्ज र भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी समेत दिएको छ ।
उता माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको बताए छन् । उनले माओवादीले आइतबार ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको बताए । तर चैत २ गतेका लागि राखिएको राष्ट्रिय भेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया