
जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । सो बिस्फोट परि गम्भीर घाइते भएका मध्ये एकजनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । आइतबार दिउँसो सिरहाको लहान नगरपालिका–८ मा रहेको मालपोत कार्यालयमा गराइएको विस्फोटमा परि ६ जना घाइते भएका छन् । उनीहरुमध्ये धनगढीमाई नगरपालिका–१३ का दिनेशकुमार भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।
मालोपोत कार्यालयमा काम चलिरहेको बेला बेला भवनको पहिलो तल्लामा अपराह्न १ बजेतिर अचानक बम बिस्फोट भएको थियो । सो बमको छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लहानका अनुसार बमको छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका– १३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका– १६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका– ३ निवासी ५४ वर्षीय बद्री नारायण यादव, गोलबजार नगरपालिका– ४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार– ६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालकका अनुसार बिस्फोटमा परि घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच सो बम विष्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले एक विज्ञप्ति जारी गर्दै तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत उक्त स्थानमा विष्फोट गराएको बताएका छन् ।