चिसो मौसम सकिदै गर्दा अहिले हामी गर्मी मौसम लाई स्वागत गर्दैछौ । हुन त कसैलाई जाडो त कसैलाई गर्मी मौसम प्रिय लाग्ने गर्दछ । तर पनि काम गर्ने जनमानसको कुरा सुन्ने हो भने गर्मी जाडो भन्दा केही प्रिय नै रहन्छ भन्ने गरिन्छ । गर्मी मौसममा दिन पनि घमाइलो र केही लामो पनि हुने हुदा दैनिकीमा केही सहजता भएको हामी महसुस पनि गर्दछौं । तर गर्मी मौसमको सुरुवात संगै हाम्रो शरीरमा धेरै समस्याहरु आउन सक्दछन् । यदि ति समस्याबाट बच्न पहिलै सजकता अपनाइएन भने त्यसले स्वास्थ्यमा धेरैनै नकारात्मक असर पार्न सक्दछ ।

खासमा गर्मी बढेसँगै हाम्रो स्वास्थ्यमा के कस्ता चुनैतीहरु थपिन्छन त ? यस बारेमा हामीले चितवन मुटु अस्पतालमा भरतपुरमा कार्यरत तथा पूर्बी चितवनमा लोकप्रिय युवा चिकित्सक डा. सन्तोष शर्मा भुषालसँग बुझेका छौ । उहाँका अनुसार हामिले गर्मी मौसम सुरु भए सँगै तल उल्लेखित केही कुरामा बिशेष ध्यान सके मात्र पनि धेरै हदसम्म स्वास्थ्य समस्याबाट बच्न सकिन्छ ।

१. शरीरमा पानीको मात्रामा कमि (Dehydration)

प्राय गर्मी याममा काम सँगसँगै हामीले पानी पिउन पनि बिर्सने गर्दछौ । गर्मी याममा हाम्रो शरिरबाट पसिनाको मात्रा पनि बढी निस्कने गर्द्छ । त्यस कारणले शरीरमा थकान महसुस हुने, रक्तचाप कम हुने/मुटुको चाल बढि हुने, मृगौलामा असर पुग्ने, ज्वरो आउने, बहोसी हुने जस्ता असर देखिन सक्दछन् । यी समस्याहरु आउन नदिन हामीले पटक पटक शरीरको आवश्यकता अनुसार पानी पिउन बिर्सनु हुदैन ।

२. छालामा घामको किरणले हुने समस्या (Sun Burn)
गर्मी याममा घामको किरणद्वारा छालाको रङ्ग कालो हुँदै जाने समस्या देखिन सक्दछ । यसबाट बच्नका लागि घाममा ननिस्कने र निस्कन परेमा छाताको प्रयोग गर्ने वा घामबाट छाला बचाउने क्रिम (SPF) को प्रयोग गर्नसके उत्तम मानिन्छ ।

३. छाला को क्यान्सर (Skin Cancer )
धेरै समय घाममा बस्ने, काम गर्ने मानिसमा घामका विकिरणले छालाको क्यान्सर हुन सक्दछ । यसबाट वच्नका लागि माथी भनिएको जस्तै (SPF) क्रिम प्रयोग गर्ने, छाला छोप्ने गरि कपडा लगाउने आदि गर्न सकिन्छ ।

४. खानाद्वारा हुने संक्रमणहरु (Food Poisoning)
गर्मी मौसममामा जाडो भन्दा धेरै खानाको संक्रमणहरु देखिने गर्दछ । लामो समयसम्म पकाएर राखेका खाने कुरा, बाटोमा पाकेका खानेकुरा खादा त्यसमा हुने किटाणुद्वारा हाम्रो पेटमा संक्रमण हुने गर्दछ । वाक वाकी लाग्ने÷हुने, पेट दुख्ने, पखाला लाग्ने, शरीर दुख्ने, ज्वरो आउने यसका मुख्य लक्षण हुन । यस बाट बच्न सरसफाइमा ध्यान दिने, सफा खाने कुरा मात्रै खाने र पानी प्रसस्त मात्रामा पिउने गर्नु पर्दछ ।

५. लामखुट्टेको टोकाइबाट हुने संक्रमणहरु
गर्मी महिनामा सबैभन्दा समस्या भनेको लामखुट्टेको टोकाइ पनि हो । लामखुट्टेको टोकाइबाट डेङ्गु, मलेरिया जस्ता रोगहरु फैलने सक्ने भएकाले यसबाट बच्न झुल को प्रयोग गर्ने गर्नुपर्दछ ।

६. दुर्घटनाहरु

क) सवारी दुर्घटना (Road Traffic Accidents)

हामीलाई सुन्दा अचम्म लाग्न सक्छ गर्मीमा दुर्घटना बढी हुन्छ भनेर तर अनुसन्धानमा यो कुराको पुष्टि भएको छ । यसको कारण गर्मी मौसममा धेरैले रक्सीको सेवन गरि सबारी साधन चलाउनु रहेको पाइएको छ ।

ख) डुबेर हुने दुर्घटना (Drowning)
गर्मी मौसममा नदि नाला, स्विमिङ पुलहरुमा पौडी खेल्दा, डुङ्गामा घुम्दा पानीमा डुबी हुनसक्ने दुर्घटना पनि केही बढी हुने गर्दछ । त्यसैले पौडि खेल्नजाँदा पनि बिचार गरेर मात्र पानीमा जानु पर्दछ ।
यस बाहेक पनि गर्मी मौसममा मौसमी ज्वरो र अन्य रोग हरु पनि देखिने हुदा धेरैनै सजग भएर खानेकुरा खानेदेखी आफ्नो दैनिकिमा ध्यान दिनु पर्दछ ।

डा.सन्तोष भुषाल, चिकित्सक 
चितवन मुटु अस्पताल, भरतपुर

तपाईको प्रतिक्रिया