काठमाडौं । नेपाल स्टक एक्सचेन्जले नेपाल इन्फ्रास्टक्ट्रचर बैंक (निफ्रा) लाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्ष भित्रनै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न बताएपछि सोही बिषयमा नेपाल स्टक एक्सचेन्जले निफ्रालाई स्पष्टीकरण सोधेको हो ।

सीईओ खतिवडाको सो भनाई सञ्चार माध्यमहरुमा प्रकाशन भएपछि नेप्सेले आफ्नो ध्यानाकर्षण भएको बताउदै स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र लिखित जवाफ पेश गर्न पत्राचार गरिएको नेप्सेका कामु सहायक प्रवन्धक सुवोध ढुंगेलले जानकारी दिए । उनले सो बिषयमा के कति सत्यता रहेको छ ? भन्दै प्रश्न सोधेको बताए । यसैगरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भन्दै भएको प्रचारबारे पनि नेप्सेले निफ्रालाई स्पष्टीकरण सोधेको ढुंगेलले बताए ।

ढुंगेलले यस्ता सूचनाहरुले कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने बताउदै सेयर मूल्यमा प्रभाव पार्नसक्ने निर्णय गरे त्यसको २४ घण्टाभित्रै नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको बताए । निफ्राले सम्बन्धित निकायभन्दा बाहिरबाट सोे विषय बाहिर ल्याएको भन्दै नेप्सेले स्पष्टीकरण सोधेको ढुंगेलले बताए ।

तपाईको प्रतिक्रिया