चितवन । आगामी चैत्र २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्न प्रेस युनियन चितवनले सबै संगठन समक्ष आग्रह गरेको छ । बुधबार भरतपुरस्थित कार्यालयमा बसेको प्रेस युनियन चितवनको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि बढ्न सबैसँग आग्रह गरेको हो । युनियन चितवनका अध्यक्ष अनिल ढकालले जिल्लामा क्रियाशिल सबै पत्रकारसम्बद्ध संगठनहरुसंग समन्वय गरेर युनियनको नेतृत्वमा अघि बढ्ने गरी सहकार्य गर्न सबैसंग आह्वान गर्ने निर्णय गरिएको बताए ।

ढकालले पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुको उपस्थितिका लागि भए पनि सबैसंग सहकार्य गर्ने बेला आएको बताउदै युनियनको नेतृत्वमा सबैलाई मिलाएर लैजाने जिकिर गरे । उनले युनियनको नेतृत्वमा सबैलाई मिलाएर लैजाने चाहाना रहेको बताउदै श्रमजीविको मुद्धालाई अघि बढाउन सबै मिलेर जानुनै उत्तम देखिएको पनि बताए ।

नेपाल पत्रकार महासंघको निर्वाचन नजिकियसंगै युनियनले निर्वाचनकै सन्दर्भमा रहेर आज (विहीबार) विहान युनियनका अगुवा पत्रकारहरुसंग छलफल गर्ने निर्णय समेत गरेको छ । युनियनका सचिव प्रस्ताव सुवेदीले निर्वाचनलाई लक्षित गरी विभिन्न पक्षहरुसंग चरणवद्ध रुपमा छलफल गर्दै अगाडि बढ्ने निर्णय समेत गरिएको जानकारी दिए । सुवेदिले रंगैरंगको पर्व होलीको अवसरमा चैत्र १५ गते होली मिलन कार्यक्रम राख्ने निर्णय पनि भएको जानकारी दिए । उनले युनियनले विभिन्न चाडपर्वहरुमा पत्रकारहरुबीच आत्मियता बढाउन विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आइरहेको बताए ।

सुवेदीले प्रेस युनियनले पत्रकारहरुको क्षमता अभिवृद्धका लागि विभिन्न तालिम समेत प्रदान गर्ने देखि लिएर पत्रकारहरुमाथि आइपरेका समस्या समाधानका लागि पनि अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको जिकिर गरे ।
नेपाल पत्रकार महासंघको बुधबार बसेको बैठकले महासंघको निर्वाचनको मिति तोकेको थियो । सो निर्णयसँगै महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लाको एकैसाथ चैत २५ गते निर्वाचन हुनेछ ।

तपाईको प्रतिक्रिया