काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली झन शक्तिशाली बनेका छन् । एमालेको शनिवार बसेको बैठकले पदाधिकारी हटाउन सक्ने र सासंद छनोट गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई दिएसँगै उनी झन शक्तिशाली बनेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीको बैठक बहिस्कार गरेपनि ओली पक्षीय नेताहरुको संसदीय दलको बैठक भने बसेको थियो । सो बैठकले संसदिय दलका नेतालाई थप अधिकार सम्पन्न गर्ने गरी विधान संशोधन गरेको छ ।
त्यस लगतै बसेको ‘केन्द्रीय कमिटी’ बैठकले त्यो विधानलाई अनुमोदन पनि गरेको छ । साथै सो बैठकले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई पदमुक्त गर्ने आफ्नो अघिल्लो निर्णयलाई कार्यान्वयन गर्ने गरी २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक समितिमा पनि परिणत गरेको छ । यससँगै पार्टीमा अध्यक्ष र महासचिव बाहेक पदाधिकारी नरहने स्थिती बनेको छ । पदाधिकारी र स्थायी कमिटीबारे प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओली र महासचिव पोखरेललाई दिइएको छ । यदि यो निर्णय कार्यान्वयनमा आउने हो भने ओली पार्टीमा झन शक्तिशाली पक्का भएको छ ।
यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘केन्द्रीय कमिटी’ बैठकले चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिस्कार गरेपनि शनिबार बसेको बैठकले नेता नेपालसँगै भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
सो बैठले पार्टीको निर्देशन बिपरित नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरेको र त्यसमा चार मुख्य जिम्मेवार रहेको ठहर गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भेला नगर्न निर्देशन हुँदाहुँदै नेकपा एमालेको व्यानरमा भेला गर्नु अनुशासनको उल्लंघन भएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको बताए ।
ज्ञवालीले चार नेताले दिने जवाफका आधारमा अरु प्रक्रिया अगाडि बढ्ने भन्दै बताउदै फागुन २३ अगाडिका गतिविधिलाई एक ढंगले हेर्न सकिएला, तर त्यसपछि पनि लगातार गुटबन्दी गरिरहनु कदापि क्षम्य भने मान्न नसकिने बताए । उनले बाँकी नेताहरुको हकमा भने गम्भीर आत्मसमीक्षाका साथ पार्टीमा फर्किने विश्वास राखेको बताए । पार्टीको नाममा समानान्तर गतिविधि गरिए विधान आकर्षित हुने समेत ज्ञवालीको तर्क छ ।
उता खनाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पनि स्पष्टीकरण सोध्ने भनिएको थियो । केन्द्रीय सदस्यहरुले झाँक्रीसँगै अष्टलक्ष्मी शाक्यलाई पनि कारबाही गर्नुपर्ने माग गरेका भएपनि उनिहरुको हाइट नपुगेको भन्दै अध्यक्ष ओलीले शाक्य र झाँकीलाई स्पष्टीकरण भने नसोध्ने बताएको एक केन्द्रीय सदस्यले बताए ।

तपाईको प्रतिक्रिया