काठमाण्डौ । नेपालमा कोरोना संक्रमण बढ्दा दोस्रो लहरको चिन्ता बढ्दै गएको छ । छिमेकी मुलुक भारत लगाएतका देशमा दास्रो लहरको सुरुवातसँगै पुन लकडाउन सुरु भएको छ । भारतबाट कामबाट नेपाल फर्कने धेरै नेपाली भएका कारणले गर्दा पनि कोरोना संक्रमणको दर बढ्ने सम्भावना रहेको हो ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । परीक्षण बढाएसँगै आइतबारको तुलनामा संक्रमितको संख्या दोब्बरले बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चार हजार ४७२ जनाको नमुना परीक्षण गर्दा १५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । आइतबार तीन हजार १८१ नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाई छ ।
थप भएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार ५६ पुगेको छ । उनीहरुमध्ये थप ९९ सहित दुई लाख ७२ हजार २० जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै २४ घण्टामा तीन जनासहित कोरोना संक्रमणबाट हालसम्म तीन हजार १९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतबार १०६ जना संक्रमित निको भएका थिए भने कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको थिएन । सोमबार काठमाडौं उपत्यकामा मात्रै ८४ जना संक्रमित थपिएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया