रत्ननगर । पूर्वी चितवनको रत्ननगर–१, बकुलहरमा रहेको कुलो निर्माण योजनाको सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम गरी खर्च विवरण सार्वजनिक गरिएको छ । कुलो निर्माणका लागि ४८ मिटर कुलो निर्माण सम्पन्न गर्नको लागि रत्ननगर नगरपालिकालाई संघीय सांसद् कोषबाट दस लाख रुपैयाँ उपलब्ध भएको थियो । त्यसमा उपभोक्ता नगद साझेदारी कोषबाट एक लाख आठ हजार रुपैयाँ र उपभोक्ता जन श्रमदानबाट २१३.७७ रुपैयाँ गरी जम्मा एघार लाख आठ हजार २१३.७७ रुपैया उपलब्ध गराइएको थियो ।
निर्माण कार्य सम्पन्न गर्नको लागि ११ लाख १० हजार ८३३ दशमलव २९ रुपैयाँ खर्च भएको निर्माण आयोजना समितिकी कोषाध्यक्ष शारदा अधिकारीले जानकारी दिइन् । उपलब्ध बजेटबाट ४८ मिटरभन्दा बढी अर्थात् ७७.५ मिटर काम भएको कुलो निर्माण आयोजना समितिका अध्यक्ष कृष्णलाल श्रेष्ठले बताए । कार्यक्रममा कुलो निर्माण गर्न महत्वपूर्ण योगदान गरेबापत स्थानीय गोकुलप्रसाद सापकोटालाई सम्मान गरिएको थियो । सहयोगी सबैलाई धन्यवाद दिँदै समितिका सचिव गीतानाथ अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा जनप्रतिनिधि बाबुराम गौतम, रत्ननगर नगरपालिका वडा नं १ का सचिव सूर्यप्रसाद ढुङ्गाना र स्थानीयवासीको उपस्थिति रहेको थियो ।











