काठमाडौं । सरकारले जोशी बिज हाउससँग २८ करोड ५० लाख बढी तिर्ने गरि युरिया मल ल्याउन ठेक्का सम्झौता गरेको छ । एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले जोशी बिज हाउस नामक मल सप्लायर्ससंग ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न मंगलबार ठेक्का सम्झौता गरेको हो ।

कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार जोशी बिज हाउसले प्रति मेट्रिक टन ४७३ अमेरिकी डलरमा मल ल्याउने गरी सम्झौता गरेको हो । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दबाबमा कृषि सामग्री कम्पनीले प्रति मेट्रिकटन ३९१ डलरमा मल ल्याउन परेको टेण्डर रद्ध गरेर जोशी बिज हाउसलाई प्रति मेट्रिक टन ८२ डलर (करिब साढे ९ हजार रुपैयाँ) बढि तिर्ने गरि खरिद सम्झौता गरेको हो ।

यसरी यो बढी मूल्यमा ३० हजार मेट्रिक टन मल खरिद गर्दा २४ लाख ६० हजार डलर अर्थात २८ करोड ५० लाख ४० हजार रुपैयाँ राज्यलाई भार थपिने निश्चित भएको छ । केहि समय अघि कृषि सामग्री कम्पनीले आह्वान गरेको बोलपत्रमा जोशी बिज हाउस काठमाडौं र स्वीस सिंगापुर ओभरसिजले मल ल्याउने गरि टेण्डर भरि प्रस्ताव गरेका थिए । गत २०७७ पुस २३ मा कम्पनीले मलको लागत तोकेर बोलपत्र खुला गर्दा स्वीस सिंगापुरले प्रति मेट्रिक टन ३९५ र जोशीले ३९१ अमेरिकी डलरमा मल ल्याउन गरि प्रस्ताव गरेका थिए ।

कृषि सामग्री कम्पनीले सो समयमा लागत मूल्यांकन भन्दा ४ डलर बढीमा मल ल्याउन प्रस्ताव परेको र सोही बेला मलको अन्तर्राष्ट्रिय मूल्य अत्याधिक बढेकाले दुईमध्ये कम बोल कबोल गरेको कम्पनीलाई ठेक्का दिए सरकारी ढुकुटी बच्ने भन्दै कृषि मन्त्रालयमा प्रस्ताव पत्र पठाएको थियो । तर सो समयमा मलको मूल्यबारे अध्ययन नै नगरी मन्त्रालयका कृषितर्फका सचिव डा. योगेन्द्रकुमार कार्कीले लागत बढी परेको कारण देखाएर पुनः नयाँ ठेक्काको सुरुआत गर्न भनि कृषि सामग्री कम्पनीलाई निर्देशन दिएका थिए ।

सचिव कार्कीको निर्देशनपछि कृषि सामाग्री कम्पनीले पुनः नयाँ ठेक्का प्रारम्भ गरि टेण्डर आह्वान गरेको थियो । तर पछिल्लो पटक पनि जोशी बिज हाउसले पहिले भन्दा प्रति मेट्रिक टन ८२ डलर बढी पाउने गरी नै ठेक्का पाएको हो । मल खरिदमा कृषि मन्त्री पद्मा कुमारी अर्याल र कृषि सचिव डा योगेन्द्र कुमार कार्कीको प्रत्यक्ष संलग्नता रहेको तर उनीहरुले यो कुरा अस्वीकार गर्दै आएको मन्त्रालय स्रोतको दावी रहेको छ ।

तपाईको प्रतिक्रिया