चितवन । चितवनका अस्पतालमा कोरोनाका गम्भीर बिरामी देखिन थालेपछि चिकित्सकले सतर्क रहन सबैमा आग्रह गेरेका छन् । पछिल्लो समय चितवनमा कोरोनाका गम्भीर बिरामी देखापर्न थालेपछि चिकित्सक पनि चिन्तित देखिएका छन् । गत वर्ष चैत्र ११ गते देशमा लकडाउन सुरु भएको थियो त्यसको बुधबार एक वर्ष पुगेसँगै कोरोनाका थप नयाँ बिरामीहरु देखिन थालेका हुन् ।

चितवनका अस्पतालको आइसोलेसनमा पाँच जना गम्भीर खालका बिरामी देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए । उनले सार्वजनिक र अस्पतालको आइसोलेसन पूरै खाली भएको अवस्था रहेकोमा अहिले भने थप पाँच जना कोरोनाका बिरामी थपिएको बताए । उनले जसमा दुई जना गम्भीर रहेको बताए , उनले पछिल्लो समयमा चितवनमा कोरोनाको संक्रमण बढ्दै गएकाले सचेत रहन सबैलाई आग्रह गरे ।

हालका दिनमा भरतपुर अस्पतालमा दुई हप्ताको अवधिमा कोरोनाको जस्तै लक्षण भएका बिरामीको संख्या बढ्न थालेको छ । कतिपय बिरामीहरुको अक्सिजनको तह निरन्तर घट्दै गएर आईसीयूमा ने राख्नु पर्ने खालका बिरामी आउन थालेको भरतपुर अस्पतालले जनाएको छ । बिशेष गरि वद्धवृद्धाहरुमा गम्भीर प्रकारको समस्याहरु देखिन थालेको र हप्तामा सातवटासम्म गम्भीर खालको समस्या देखिएका बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ ।
विगत २४ घण्टामा सात जना कोरोनाको नयाँ संक्रमित थपिएका जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिलेसम्म चितवनमा ११० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने जम्मा छ हजार ९०६ जना कोरोना संक्रमित भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले बताएको छ । हाल जम्मा आइसोलेसनमा रहेका बिरामीको संख्या ३१ जना रहेका छन् जसमा अस्पतालमा रहने पाँच जना र घरमा नै आइसोलेसनमा बस्ने २६ जना छन् ।

अहिलेसम्म चितवनका स्थानीय तह मध्ये सबैभन्दा धेरै भरतपुरका संक्रमित भएका छन् । भरतपुरमा चार हजार ९९५ जना, खैरहनीमा ४१८ जना, माडीमा १४७ जना, रत्ननगरमा ७८८ जना, राप्तीमा ३२२ जना, कालिकामा १९६ जना र इच्छाकामनामा ४० जना संक्रमित रहेको जनस्वास्थ्य कार्यालयका चितवनले जनाएको छ ।

भ्याक्सिन लिए पनि थप मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गर्न जरुरी रहेको चिकित्सकको भनाई रहेको छ । भारतमा लगाएतका देशमा देखिएको नया किसिमको कोरोना भाइरस नेपालमा पनि भित्रिएको चिकित्सकको भनाई छ । चितवनमा माघ महिनामा ह्वात्तै घटेको कोरोनाको संक्रमण दर पछिल्लो समय फागुनको अन्तिम हप्ताबाट भने केही बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया