काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केहि दिनमानै केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि दबाब रहेकाले केहिदिन पर्खिएको बताए ।

उनले तर अब भने केही दिनमै सरकारको समर्थन फिर्ता लिने जानकारी दिए । उनले हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो पर्छ कि भन्ने आफ्नो बुझाई रहेकाले कुरिरहेको मात्रै हो तर राजनीतिक र नैतिक ढंगले आफु अब भने धेरै दिन पर्खिन नसक्ने बताए ।

प्रचण्डले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई आफुले समर्थन गरिरहन नसक्न भन्दै बरु चाहे राजनीति जतासुकै जाओस अब भने आफु पछाडि नहट्ने बताए । आफ्नो राजनीति र नैतिकतालाई बचाउनुपर्छ भन्ने लागेकाले चुप्प लागेर बसेको बताउदै प्रचण्डले अबको केही दिनभित्र सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रियामा अगाडि बढ्ने बताए ।

प्रचण्डले अझैपनि आफ्नो प्रयास भनेको संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गएका दलहरुबीच अबको राजनीतिक निकासबारे न्यूनतम सहमति होस् भन्ने रहेको बताए । प्रचण्डले अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र आफुले दाह्रा किटेर भएपनि समर्थनलाई एकदुई दिन भएपनि रोकिराखेको बताए ।

तपाईको प्रतिक्रिया