चितवन । पूर्वी चितवनको रत्ननगरस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले फ्रान्सेली नागरिकसँग होली मनाएका छन् । गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई विगत आठ वर्षदेखि खाद्यान्न लगाएतका सामाग्री सहयोग गर्दै आएका फ्रान्सेली नागरिकहरूसँग सो केन्द्रमा बस्दै आएका चेपाङ बालबालिकाहरूले आइतबार होली पर्व खेलेर र रमाएर मनाएका हुन् ।

फ्रान्सेली नागरिकहरू मरी पल बेन्डट्टी, माइकल कोपाडो र निकोलस लिख्तनस्टाइगा चेपाङ बालबालिकासँग होली मनाउन चेपाङ संरक्षण केन्द्र पुगेका थिए । चेपाङ बालबालिकासँग होली खेल्न पाउँदा एकदमै खुसी लागेको उनीहरूकोे प्रतिक्रिया थियो ।
उनीहरूले सुरूमा बालबालिकालाई रङ दलिदिए र त्यसपछि बालबालिकाले पनि उनीहरूलाई रङ लगाएर होली उल्लासमय ढंगबाट मनाएका थिए । फ्रान्सेली नागरिकहरूले र चेपाङ बालबालिकाले पनि एकआपसमा पिचकारी हान्ने र रङ दलेर होलीमा रौनक थप्ने काम भएको थियो ।

फ्रान्सेली नागरिकहरूले वर्षेनी सात देखि आठ लाख रुपैयाँसम्मको खाद्यान्न र स्टेशनरी सहयोग गर्दै आएका अध्यक्ष केपी किरण शर्माले जानकारी दिए । उनले केन्द्रमा चितवन लगायत गोर्खा, धादिङ र मकवानपुरका चेपाङ बालबालिकाहरूले आश्रय लिइरहेका जानकारी दिए । बि.सं.२०६९ सालमा स्थापना भएको गामबेशी चेपाङ संरक्षण केन्द्रमा हाल एक सय ४२ जना चेपाङ बालबालिका आश्रित रहेको शर्माको भनाई छ । सो केन्द्रमा कक्षा १ देखि सिभिल इन्जिनियरिङसम्म पढ्ने बालबालिका आश्रित रहेको केन्द्रका अध्यक्ष शर्माले जानकारी दिए । शर्माले सबै बालबालीकाको सबै खर्च केन्द्रले नै जोहो गर्ने गरेको बताए ।












