बागलुङ । होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ भने दर्जन बढि बेपत्ता भएका छन् । बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भीरबाट खसेर २ जनाको मृत्यु भएको पुष्टि गरे । मृतकको नाम भने हाल सम्म खुलेको छैन ।

होली खेल्ने क्रममा बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाहरु बीच झगडा हुँदा प्रकाश कुँवर र दिपक परियार भीरबाट खसेको स्थानीयले बताएको भएपनि प्रजिअ कार्कीले पुष्टि भने भइनसकेको बताएका छन् । उनले भेटिएका मृतक उनीहरु हुन् वा अन्य भन्ने नखुलेको बताए ।

प्रहरी नायव उपरीक्षक इकवाल हवारीले दुवै युवालाई अर्को समूहले कुटपिट गरेपछि भीरबाट खसालेको भन्ने थाहा पाएपछि उद्धारका लागि प्रहरी खटाएको बताए । घटनास्थल सदरमुकाम देखि १ सय किमि पश्चिममा पर्छ । सो घटना आइतबार दिउँसो भएको भए पनि बेलुकी ९ बजेमात्र प्रहरी घटनास्थल पुगेको हो । सो झडप पछि भागाभाग भएका १५ जना अझै सम्पर्क बाहिर रहेको स्थानीयले बताए ।

सो क्षेत्रमा हुने मेलामा होली खेल्ने निहुँ भए पनि राजनीतिक कारण भएको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताए । बेपत्ता भएका कुँवर कांग्रेस जिल्ला सदस्य हुन् । सो घटनाका अर्का पनि कांग्रेस कार्यकर्ता भएको र घटनामा संलग्न अर्को पक्ष भने माओवादी निकट भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया