काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले लगातार बढाई रहेको पेट्रोल, डिजल र मट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ अझ बढाएको हो । पछिल्लो पटक चैत्र ३ गते बढेको पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढेर अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल÷मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।

१ अप्रिल २०२१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन गरेको हो । पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको भएतापनि मासिक नोक्सानी अत्यधिक रहेको बताउदै निगमले निरन्तर मुल्य बृद्धि गरिरहेको छ । आयल निगमको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढेको हो । निगमले खाना पकाउने ग्याँस तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको जनाएको छ ।

हाल गरिएको मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा रहेको निगमको भनाई छ । त्यस्तै निगमले ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको जनाएको छ । १५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताउदै आएको छ । निगमले सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा सञ्चित नाफाबाट व्यवस्थापन गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया