काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्री बनेका आफ्ना चार सांसदलाई कारवाही गरेको छ । प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई नेकपा (एमाले) प्रवेश गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी मंगलबार माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राजनीतिक दल त्यागसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ बमोजिम स्पष्टीकरण माग गरी मन्त्रिपरिषद्बाट फिर्ता आउन गरिएको निर्देशन अस्वीकार गरेकाले कारवाही गरिएकोे सङ्घीय संसद् सचिवालयलाई जानकारी गराएका हुन् । अध्यक्ष दाहाललाई माओवादी केन्द्रको यही चैत १ र २ गते बसेको केन्द्रीय समितिको बैठकले प्रत्यायोजित गरेको अधिकार बमोजिम रायमाझी, भट्ट, साह र चौधरीले दल त्याग गरेको निर्णय गरिएको जनाइएको छ । प्रचण्डले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम प्रतिनिधिसभामा पेश गर्ने निर्णयबमोजिम उनिहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्काशन गरिएको बताएका छन् ।

माओवादी केन्द्रले सांसदहरु रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नदिएको र साहले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको तथा राजनीतिक दलसम्बन्धी ऐनले तोकेको दायित्व उल्लङ्घन गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको सङ्घीय संसद् सचिवालयमा गराएको जानकारी पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया