काठमाडौं ः नेपालमा कोरोना भाइरसको दोस्रो लहर तिव्र रुपमा फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयले पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै कोभिड—१९ संकट व्यवस्थापन केन्द्रले (सीसीएमसी)लाई भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो ।

स्कुल पढ्न गएका बालबालिकाहरूमा पनि कोरोना भाइरसका नयाँ भेरिएन्ट देखिएको भन्दै मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो । स्वास्थ्य मन्त्रालयको सो सिफारिससँगै आइतबार सरकारी विदा परेकाले सोमबारबाट विद्यालयहरु बन्द हुन सक्ने देखिएको जानकारहरु बताउछन् ।

तपाईको प्रतिक्रिया