चितवन । देशभर २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमण पाइएको छ भने १३ को मृत्यु भएको छ । त्यस्तै चितवनमा मात्रै ७ जना कोरोना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय चितवनले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुरमा ६ जना र रत्ननगरमा एक जनालाई कोरोना संक्रमण भएको देखिएको हो । योसँगै सोमबारसम्म चितवनमा संक्रमितको संख्या ६ हजार ९७९ पुगेको छ भने अहिलेसम्म कोरोनाको कारणले १११ जनाले ज्यान गुमाएका छन् ।

चितवनसहित नेपालमा ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना रहेको मन्त्रालयको भनाई छ । योसँगै नेपालमा हालसम्म दुई लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले यसअवधिमा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको बताएको छ । हाल सम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १३८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । हालको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोनाबाट निको हुने दर ९७.७ प्रतिशत रहेको छ भने नेपालमा सक्रिय संक्रमितको संख्या ३३०६ रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

तपाईको प्रतिक्रिया