बाँके । बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मी ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परि बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ । ४२ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परि एक महिलासहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतक मध्ये महिलाबाहेक चार जनाको सनाखत भएको प्रहरीको भनाई छ । कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा बांके कोहलपुर नगरपालिका १२ बस्ने २१ वर्षीय उदय बाठा, कोहलपुर १३ का २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत सापाखानी ७ का ४१ वर्षीय जीवनकुमार विक र झापा मेची नगरपालिका १० का ४५ छत्रबहादुर कटवालकोसहित एक महिला रहेकी छिन् । डिएसपी खनालका अनुसार अन्यको अझै पहिचान खुल्न सकेको छैन । उनका अनुसार घटनाको प्रकृति र प्रारम्भिक अनुुसन्धानमा दुबै साधन तीब्र गतिमा रहेका कारण दुर्घटनामा भएको रहेको देखिएको छ । मृतकहरु सबै बसका यात्रु रहेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पु-याइएको बाँकेका डिएसपी सुवास खड्काले जानकारी दिए । उनले सो अस्पतालमा घाइतेहरुको उपचार भइरहेको बताए ।

तपाईको प्रतिक्रिया