काठमाडौं । नेपालमा कोरोना कहरले अब बालबालिका पनि प्रभावित हुन थालेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष समूहका १५ जना र १० देखि १९ वर्ष समूहका ६६ जना बालबालिका कोरोना संक्रमित भएका स्वास्थ्य मन्त्रालयको भनाई रहेको छ ।

यसैबिच शुक्रबारमात्र देशभर एकैदिन ९ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यका र बाँके जिल्ला कोरोनाको ‘हट स्पट’ बनेको देखिएको छ । शुक्रबार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यस्तै २ सय ८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ । हाल देशभर ५ हजार ८ जना सक्रिय संक्रमित रहेका छन् । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको छ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया