अजित अधिकारी
चितवन । बिश्वब्यापी रुपमा फैलिएको महामारीको रुपमा रहेको कोभिड १९ रोकथाम र न्यूनीकरणका लागि मंगलबारदेखि सचेतना कार्यक्रम सुरु भएको छ । बिहान ७ बजेदेखि नगर स्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समिति माडीले माडीका मुख्य मुख्य बजारमा सचेतना कार्यक्रम संचालन गरेको हो । सो सचेतना अभियानमा माडी नगर उप प्रमुख ताराकुमारी काजी महतो, ईलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक शर्मा पौडेल, माडी नगरपालिकाका सुचना अधिकारी प्रबिण भण्डारी, स्वास्थ्यकर्मी शिब सुबेदी, नेपाल रेडक्रस सोसाइटी बघौडा उपशाखाका सभापति भागिरथ बस्याल लगाएत स्वास्थ्यकर्मी, जनप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, पत्रकार लगाएतका सामाजिक ब्यक्तित्वहरु सबैको सहभागीता रहेको थियो ।

सुरक्षाकर्मीहरुद्वारा घर बाहिर अति आवश्यक कामले निस्कनै परे मास्क लगाउन अनुरोध गर्ने र एकआपसमा सामाजिक दुरी कायम गर्न गराउन र सबैमा सामाजिक भाबनाको बिकास गराउने हेतुका साथ सो अभियान संचालन गरिएको हो । मास्क लगाउने तथा स्वास्थ्य मापदण्ड पालना गर्ने लाइ धन्यवाद दिने अभियान राखिएको समितिले जनाएको छ । उक्त अभियानमा सरिक रहेकी माडी नगर उप प्रमुख महतोले, कोभिडको नियन्त्रण गर्न समाजमा चेतनाको बिकास संगसंगै आगामी दिनमा हुन सक्ने भयावह स्थितिको नियन्त्रण र त्यस्तो परिस्थितिको सिर्जना हुन नदिन सचेतना अभिबृदीका साथ अगाडि बढ्न लागिएको बताइन् ।
साथै उनले, माडी भारतीय सीमा नाका नजिक रहेकाले पनि तत्काल सीमा क्षेत्रमा निगरानी बढाउनुपर्ने तर्क गरिन् । समितिका अनुसार, अभियानको सुरुवात अनुरोध र धन्यवादबाट गरिएको छ । यसैगरी बगही बसपार्कमा हेल्थ हेल्प डेस्क समेत संचालन गरिएको छ । त्यस डेस्कमा स्वास्थ्यकर्मी र सुरक्षा कर्मीहरु रहने समितिले जनाएको छ । यो संगै कोभिड नियन्त्रणको लागि माडी क्षेत्रमा चल्ने सवारी साधनहरुमा समेत निगरानी बढाउने ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ । साथै मास्क स्यानिटाइजर लगाएतका स्वास्थ्य सामाग्रीहरुको प्रयोग र सामाजिक दुरी कायम गर्न गराउन समेत सबैमा समितिले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया