बुटवल । नेपालको राजनिति नाटकिय ढंगबाट अगाडि बढि रहेको छ । यसैको उदाहरण हो लुम्बिनीमा शंकर पोखरेलको बिहान राजिनामा अनि बेलुका पुनः मुख्यमन्त्री नियुक्ती । यसबाट पनि नेपालको राजनिति कुन तरिकाबाट चलिरहेको छ भन्ने प्रष्ट हुन्छ ।
लुम्बिनी प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई आइतबार बेलुका पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
तर उता साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकाले पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।