रंजीत शर्मा/ नवलपरासी/२० बैशाख ।
पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं १ ख बाट सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेश सभा सदस्य अजय शाहीले दोहोरो चाल चलेका छन् ।

हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिँदै पुनः मुख्यमन्त्री पद मै चयन हुँदा सांसद अजय शाहीले नेपाली कांग्रेस , नेकपा (माओवादी केन्द्र ) र जसपाको समर्थनमा बन्ने सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीको सर्मथनमा हस्ताक्षर गरेका थिए ।
तर आज बिहान हुँदै पुनः मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेको एक प्रेस विज्ञप्ति जारी गर्दै वताएका छन् ।

समर्थन गर्नेमा कपिलबस्तु-२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले आज सोमबार एक संयुक्त विज्ञप्ति निकाल्दैं आफूहरूको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको प्रष्ट पारेका छन्।
यीनीहरूमध्ये एक जना हृदयेश त्रिपाठी र अर्को वृजेशकुमार गुप्ता समूहका सांसद हुन्। दुबैले सूर्य चिन्ह लिएर चुनाव लडेका थिए।

हाम्रो शंकर पोखरेलको नाममा असहमति हो’, सांसद श्रीवास्तवले हिजो भनेका थिए, ‘मैले र अजय शाहीले राजीनामा दिएका छैनौं। हाम्रो शंकर पोखरेलको नाममा सहमति छैन।’

उनले आफूहरूले एमाले संसदीय दलको बैठकमा सहभागिता जनाउने गरेको भए पनि सधैँ माइन्यूटमा स्वतन्त्र राजनीतिक समूह उल्लेख गर्ने गरेको बताएका थिए।

आज पनि हामी संसदीय दलको बैठकमा गयौं तर हामीले निर्णयमा हस्ताक्षर गरेको छैन’, उनले भने, ‘हाम्रो हस्ताक्षर उपस्थितिका लागि मात्र हो। हाम्रो हस्ताक्षर जोडेर मुख्यमन्त्री भएकोमा आपत्ति हो,’ उनले भनेका थिए।

तपाईको प्रतिक्रिया