काठमाडौँ । कोरोना कहर बढेसँगै स्वास्थ्य सामाग्रीको रुपमा लिइने माक्सको पनि माग उच्च भएको छ । तर त्यहि मौका छोपी कमाउन पल्केकाहरु भने उपभोक्तालाई माक्सको सटेज देखाई कालोबजारी गर्न थालेका छन् । सोहि कुरालाई मध्यनजर गर्दै सरकारले अनुगमनसँगै कारबाहीको प्रक्रिया पनि थालेको छ ।
सरकारले गरेको अनुगमनका क्रममा कम्पनीहरूले प्रतिपिस मास्क २ रुपैयाँ ४ पैसामा होलसेललाई बिक्री गरेको पाइएको भएपनि सोही मास्कलाई सर्वसाधारणले भने प्रतिपिस १० रुपैयाँभन्दा बढीमा किन्नुपरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ ।

विभागका प्रवक्ता शिवराज सेढाईंले सर्जिकल सामानमा अनुगमन गर्दा उत्पादक र खुद्रामा मूल्यमा धेरै अन्तर देखिएको बताउदै बढी मूल्य लिई उपभोक्ता ठगी गरिरहेका सर्जिकल हाउस÷स्टोरलाई कारबाही गरिरहेको बताए । उनले अबको अनुसन्धान थोक र खुद्रा विक्रेताको तहमा हुने पनि जानकारी दिए । विभागले शुक्रबार ज्ञानेश्वरस्थित अनुज स्टोर, यू एन्ड बी स्टोर तथा आरएन स्टोरलाई ५ हजारका दरले जरिवाना गरेको छ । तीनवटै स्टोरको बिल पारदर्शी नदेखिएकाले कार्बाही गरिएको बिभागको भनाई रहेको छ ।
सेढाईंका अनुसार खरिद र बिक्री बिल देखाउन आग्रह गर्दा देखाउन नसक्दा तीनै स्टोरलाई ५ हजार रुपैयाँका दरले कारबाही गरिएको जानकारी दिए । उनले खरिद बिक्री बिल देखाउन नक्सनु भनेको अपारदर्शिता भएको बताउदै त्यस कुराले मूल्यमा धेरै असर पार्ने बताए । त्यसरी माक्स बिक्री बितरण गर्ने ती स्टोरलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ बमोजिम बिलबीजक जारी नगरी ऐनको दफा ३८ (घ) अनुसारको कसुर गरेको हुनाले ऐन दफा ३९ (१) (क) बमोजिम प्रत्येक फर्मलाई ५ हजारका दरले जरिवाना गरिएको बिभागको भनाई छ ।

त्यस्तै विभागले शुक्रबार नै भक्तपुरमा रहेको हिमालयन लाइफ केयर इन्डस्ट्रिजमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा कम्पनीले थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसाका दरले बिक्री गरेको पाइएको थियो । कम्पनीले ४५ पिसको प्याकेट बनाई बिक्री गरिरहेको पनि भेटिएको बिभागले जनाएको छ । बिभागका अनुसार दैनिक करिब १ लाख ५० हजार पिस मास्क उत्पादन गर्ने क्षमता रहेको उक्त उद्योगले मुनाफा राखेर थोक विक्रेतालाई प्रतिपिस २ रुपैयाँ ४ पैसामा बेचेको बिल देखिएको बिभागको भनाई छ । तर बेचिएको माक्सको प्याकेटमा मूल्यसूची एमआरपी नराखेको पाइएपछि खुद्रामा चलखेल हुन सक्ने भन्दै हिमालयनलाई पनि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) अनुसारको कसुरमा ऐनको दफा ३९ (१) (घ) बमोजिम ५० हजार जरिवाना गरिएको सेढाइंले जानकारी दिए ।
विभागले आइतबारनै त्रिपुरेश्वरमा रहेको अल फाइन सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । सप्लायर्सले मास्कमा दोब्बर मूल्य लिएकाले २ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ । प्रतिपिस ४.४६ मा थोक खरिद गरेका माक्सलाई फाइन सर्जिकल सप्लायर्स ८.३८ रुपैयाँमा बिक्री गरेको पाइएको सेढाईंको भनाई छ ।
यसरी स्टोर अनुसार डबल भन्दा बढि मुनाफा राखेर मास्कको मूल्य मनपरी गरि बिक्रि बितरण हुने गरेको भए पनि विभागले मूल्य तोक्न भने अहिले सम्म सकेको छैन । जानकारहरुका अनुसार अहिले विशेष परिस्थिति भएकाले गुणस्तर छुट्याउने, सोहीअनुसार मास्कको वर्गीकरण गरेर उत्पादन र खुद्रा मूल्य निर्धारण हुनुपर्छ । यसले ठगीबाट केही हदसम्म बच्न सकिने विभागका कर्मचारीकोनै भनाइ छ ।
अहिले दैनिक ३ टोली मास्क, सेनिटाइजर, स्वास्थ्य सामग्री र खाद्यान्नमा केन्द्रित गरी अनुगमनमा खटाइएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए । उनले अहिले सबैलाई मास्क चाहिएको बताउदै सर्जिकल स्टोरले २ रुपैयाँको मास्क १० रुपैयाँमा बिक्री गरिरहेको पाइएको बताए । पौडेलले सबै पसलमा अनुगमन र कारबाही गर्न नसके पनि सांकेतिक रूपमा सबैलाई कानुनी दायरामा ल्याइरहेको बताए । उनले बजारमा प्रभावकारिता ल्याउन स्थानीय प्रशासन, निकाय, खाद्य विभागले पनि अनुगमन गर्नुपर्ने जिकिर गरे ।

तपाईको प्रतिक्रिया