काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर प्रतिनिधिसभा सदस्यका लागिनै कात्तिक २६ र मंसिर ३ गते गर्ने गरी दुई चरणमा चुनाव घोषणा गरेकी हुन् ।
मन्त्रिपरिषद् बैठकले मध्यरातमानै बसेर संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

संविधानको धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’
त्यस्तै संसद भंग गर्नुपूर्व राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिका लागि ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबीालाई अस्वीकार गरेकी थिइन् ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि संसदको विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न आह्वान गरेपछि ओली र देउवाले शनिवार दाबी पेश गरेका थिए । देउवाले आफ्नो दल कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एमाले माधव नेपाल समूहका २६, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका एक गरी १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि दाबी गरेका थिए । उता ओलीले भने एमालेका १२१ र जसपाका ३२ गरि १५३ जना सांसदले आफूलाई साथ दिने दाबी गरेका थिए ।

राष्ट्रपतिले दुबैको समर्थनकर्ता भनिएका सांसदहरु एकअर्कामा दोहोरो परेको, दलको निर्णय विपरित एकले अर्कालाई समर्थन गरेको र संम्बन्धित दलले मान्यता नदिन लेखेर आएको भन्दै दुबैको दाबी नपुग्ने निर्णय गरेकी थिइन् । सो निर्णय गरेको केहि बेरमानै उनले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी हुन् ।


तपाईको प्रतिक्रिया