काठमाडौं । ओलीले झलनाथ खनाल र माधव कुमार नेपाल सहित विघटित संसदका ११ सांसदमाथि कारवाही प्रक्रिया सुरु गरेका छन् । शनिबार नेकपा (एमाले) ओली पक्षको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीका ११ निवर्तमान सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आफ्नो दलका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षीसंँग मिलेर हस्ताक्षरमा संलग्न भएको आरोप लगाउदै उनिहरुलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको हो ।

एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार नेता माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, मुकुन्द नेपाल, पुष्पाकुमारी कर्ण, कलिला खान, नीरादेवी जैरु र लक्ष्मीकुमारी चौधरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।

ज्ञवालीका अनुसार स्पष्टीकरणका आधारमा पार्टीले थप निर्णय गर्ने बताए । उनले जवाफ यही जेठ १० गतेभित्र पेश गर्न भनिएको बताए । उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन र आफ्नो सरकार गिराउन विपक्षीसँग गरिएको साँठगाँठबारे बैठकमा गम्भीरतापूर्वक छलफल गरिएको बताए ।

शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सिफारिश गर्न एमाले नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेको भन्दै ओलीले माधव कुमार नेपाल सहित ११ सांसदलाई कारवाहीको प्रक्रिया सुरु गरेका हुन् । ज्ञवालीले आफ्नो पार्टीका प्रधानमन्त्रीलाई हराएर त्यसका ठाउँमा कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर जाने कुरा अनुमान नै गर्न नसकिने खालको भएको र देशभरि पार्टी एकताका लागि आवाज उठिरहेको बेला र कार्यदलले काम गरिरहेको बेलामा फेरि आफ्नै प्रधानमन्त्रीविरुद्ध पार्टीका साथीहरुले हस्ताक्षर गर्नु कारवाही योग्य भएको बताए ।

त्यसो त यसअघि पनि पार्टीका केही नेता नेपाल, रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेलाई कारवाही गरिएकामा केही दिनअघि भएको स्थायी कमिटी बैठकले फुकुवा पनि गरेको थियो ।

उनले पार्टी कार्यदलले समस्या समाधान गरिरहेका अवस्थामा पार्टीकै नेताका कारण फेरि समस्या आएको बताए । उनले गत वैशाख २७ गते संसदमा अनुपस्थित भएर केही साथीहरुले जुन गल्ती गरेका थिए फेरि त्यहि गल्ति गर्दैननकी भन्ने प्रधानमन्त्रीलाई लागेको बताए । उनले अब पार्टीले कोरोना भाइरसविरुद्धको लडाइँमा आफ्नो ध्यान केन्द्रित गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया