चितवन । वाइसीयल रत्ननगर नगरकमिटीले असंबैधानिक कदमको विरोधमा सौराहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । आइतवार साँझ वाइसीयल रत्ननगर नगरकमिटीले सौराहाको गैंडाचोकमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो ।

वाइसीयल रत्ननगर नगरकमिटी संयोजक राजेन्द्र धामीले संसद् विघटनको विरोधमा माओवादी केन्द्र र केन्द्र निकट विभिन्न संगठनले देशव्यापी रुपमा सुरु गरेको आन्दोलन अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको जानकारी दिए । उनले वाइसियलका केन्द्रीय सचिव दिवस पाण्डे सहित युवा नेताहरुको उपस्थितिमा पुत्ला दहन गरिएको बताए ।

सो पुत्ला दहन कार्यक्रममा सहभागी युवा नेताहरुले सरकारले दोस्रो पटक संसद विघटन गरेर संविधान माथी कु गरेको भन्दै संसद पुनस्र्थापना नभए सम्म सडक संघर्ष भने जारी राख्ने जिकिर गरे । शुक्रबार प्रधानमन्त्री केपिशर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेको र सो कुरा असंवैधानिक कदम भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत अन्य राजनीतिक दलहरुले पनि विरोधमा जनाएका छन् ।

तपाईको प्रतिक्रिया