
हेटौँडा । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारमा सहयोग पु-याउने उद्देश्यले हेटौंडा अस्पताललाई नेपाल जेसीजले १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालका संचालक संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ती सिलिण्डर हस्तान्तरण गरे ।
सो क्रममा बोल्दै राष्ट्रिय अध्यक्ष खनालले महामारीका बेलामा आफ्नो दावित्व सम्झेर हेटौडा अस्पताललाई सहयोग गरिएको बताए ।
‘हामी मानवताको सेवालाई सर्वोत्तम कार्य मान्छौं, सोही अनुसार सहयोग हस्तान्तरण गरिएको हो’– राष्ट्रिय अध्यक्ष खनालले भने ।
सो अवसरमा प्रतिष्ठानका रजिष्टार प्रसाईले जेसीजले कोभिड महामारीका बेलामा गरेको सहयोग अत्यन्तै महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा अस्पतालका तर्फबाट डा.रामचन्द्र सापकोटा, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, राष्ट्रिय तालीम आयुक्त मनिष श्रेष्ठ, जेसीज भिलेज कोअर्डीनेटर रश्मी बस्नेत, हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेत, हेटौडा लेडी जेसीजकी अध्यक्ष प्रतिमा श्रेष्ठ, बसामाडी जेसीजका अध्यक्ष गौतम केसी, बस्तीपुर जेसीजका अध्यक्ष राजेश भेटवाल, बसमाडी जेसीजका पूर्व अध्यक्ष सरोज अधिकारी, वीरगंज जेसीजका पूर्व अध्यक्ष बद्रीबहादुर अधिकारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहकार गोकुल सापकोटाले संचालन गरेका थिए ।