बुटवल । नेपालमा देखिएकोे दोस्रो लहरको कोरोना कहरका कारण धेरैले आफ्ना परिवारका सदस्य गुमाई रहेका छन् । तर नियतीको खेल भनौ या कोरानाको कहर कोरोना भाइरस सङ्क्रमणका कारण एकाघरका तीन जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा एकाघरका बुवा, आमा र छोराको मृत्यु भएको हो । बुटवल उपमहानगरपालिका–१० का वडाध्यक्ष पदमबहादुर थापाका अनुसार एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उनका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको हो ।

थापाका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो । सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो । घरकी बुहारीलाई पनि सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताए । रासस

तपाईको प्रतिक्रिया