
महेश पाण्डे
चितवन । लोक तथा दोहोरी गायक बुद्धि सागर बस्यालले लोक दोहोरी गित “माकुरीे” बोलको गित आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । लामो समय देखि लोक दोहोरी क्षेत्रमा क्रियासिल रहेका गायक बस्यालले पछिल्लो गित “माकुरी” आफ्नै बुद्धि सागर बस्याल युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरेका हुन् ।
समाजमा घटेका घटना र जनजिब्रोमा झुण्डिने झर्रा शब्दमा गित गाउन रुचाउने गायक बस्यालले सार्वजनिक गरेको “माकुरी” गितमा अहिलेकी चलन चल्तिकी गायीका मध्येकी एक टिका पुनले साथ दिएकी छिन् ।
बस्यालले सार्वजनिक गरेको माकुरी बोलको गित दोहोरीको क्षेत्रमा शब्द कोर्न र लय भर्न खप्पिस वा भनौ लयशब्दका बादशाह एकनारायण भण्डारीले लेखेका हुन् भने संगित पनि उनैले भरेका हुन् ।
एक समय लोक दोहोरी क्षेत्रमा एक क्षत्र राज गरेका गायक बस्याल केहि वर्ष क्यानडा बसाइ सरेका थिए । तर सानै देखि खोलानाला र पखरामा खेल्न रुचाउने गायक बस्यालले केहि वर्ष अघिदेखि नेपालमानै रहेर गित संगितको यात्रालाई निरन्तरता दिइ रहेका छन् । यस अघि उनले दुलही नामक गित पनि बजारमा पस्कि सकेका छन् ।
अब बिदेशको बसाइलाई बिट मार्नु भएको हो र ? भन्ने नेपालीको आवाज डटकमको प्रश्नमा बस्याल भन्छन् “कर्म गर्न जानुलाई नेपालको माया मारेको भनिदैन बरु जो कर्म पश्चात नेपाल फर्कन्छ उसले नेपालको मर्म र माया बुझेको हुन्छ, मेरो बसाई प्राय नेपाल हुनेछ तर यदि गइ हाले भने बिदेशको बसाई त्यति लामो भने हुनेछैन ।”
नेपाली गित संगितमा लगानी गरे रिटर्न गर्न गाह्रो रहेको बताउदै बस्यालले यस्तै स्थिती हुने हो भने राम्रा कलाकारहरु बिदेशीनुको बिकल्प नरहेको बताए । लगानी पछि रिटर्न नहुने भएपछि बिस्तारै गित संगितनै धरापमा पर्ने स्थिति हुन सक्ने बस्यालको धारण रहेको छ ।